
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।यस सिरिजमा नेपालले खेलेका दुवै खेलमा पराजय बेहोरेको छ। पहिलो खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्डससँग ६ विकेटको हार व्यहोरेको थियो।उता, नेपाललाई हराएर सुखद सुरुआत गरेको नामिबिया भने आफ्नो दोस्रो खेलमा नेदरल्याण्डससँग पराजित भएको थियो।नेपाल र नामिबियाबीच हालसम्म ९ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन्। तीमध्ये नामिबियाले ६ खेल जितेको छ भने नेपालले २ खेल आफ्नो पक्षमा पारेको छ। एक खेल भने वर्षाका कारण नतिजाविहीन बनेको थियो।यस सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली नेदरल्याण्डस पठाएको छ। टोलीमा उपकप्तान दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजबंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन्।लिग–२ अन्तर्गतको यो सिरिज जुलाई ३१ सम्म सञ्चालन हुनेछ। नेपालले जुलाई २९ मा नेदरल्याण्डससँग आफ्नो अन्तिम खेल खेल्नेछ भने जुलाई ३१ मा नेदरल्याण्डस र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ।हालको अंकतालिकामा नेदरल्याण्डस ३० खेलबाट ३६ अंकसहित तेस्रो स्थानमा रहेको छ। नेपाल ३० खेलबाट २४ अंकसहित पाँचौं स्थानमा छ भने समान २४ अंक भए पनि नामिबिया छैटौं स्थानमा रहेको छ।आजको खेलमा नेपाल अघिल्लो हारको बदला लिँदै प्रतियोगितामा पहिलो जित दर्ता गर्ने लक्ष्यसहित मैदान उत्रिनेछ।



























