
घरेलु टोली नेपाल एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा उज्वेकिस्तानलाई हराउँदै तेस्रो भएको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा तेस्रो स्थानको लागि भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३-१ को सेटमा पराजित गरेको हो ।पहिलो सेट गुमाएको नेपालले त्यसपछिका तीन सेटमा उत्कृष्ट पुनरागमनका साथ खेल जितेको हो । पहिलो सेटमा नेपाल २५-२० ले पराजित भएको थियो । तर नेपाल दोस्रो सेट २५-१६ ले जित्दै खेलमा पुनरागमन गर्यो । त्यसपछि नेपाल तेस्रो सेट २५-१५ र चौथो सेट २५-१३ को जित निकाल्दै प्रतियोगितामा तेस्रो भयो ।हारसँगै उज्वेकिस्तानले चौथो स्थानमा रहँदै प्रतियोगिता समाप्त गरेको छ ।आजै उपाधिका लागि भारत र काजकास्तान प्रतिस्पर्धा गर्दै छन् । फाइनल खेल दिउँसो ४:१५ बजे शुरु हुनेछ ।




























