
बिरगंज । आम जनता पार्टी (आजपा)ले घोषणा गरेको ११ माघको मधेस बन्द कार्यक्रमलाई सफल बनाउँने आम विधार्थी मोर्चाले निर्णय गरेको छ । ‘बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुबित्त तथा सहकारीबाट लिएको कर्जा माफी गर्नुपर्ने, आम जनतालाई सहज कर्जा उपलब्ध गराउनु पर्ने’ लगायतका माग गर्दै आजपाले ११ माघमा मधेश बन्द गर्ने घोषणा गरेको छ । बिरगंजको राधेमाईमा आज बसेको आम विधार्थी मोर्चा मधेस प्रदेश कमिटीको पदाधिकारी बैठकले ११ माघको मधेस बन्द सफल बनाउँने निर्णय गरेको छ ।बैठकलाई सम्बोधन गर्दै आम विधार्थी मोर्चाका केन्द्रीय अध्यक्ष बिबेक साहले आजपाले उठाउँदै आएको माग सम्बोधनमा सरकारले चासो नदिएकाले मधेस बन्दको कार्यक्रमलाई सफल बनाउनुपर्ने जोड दिए । आजपाले उठाउँदै आएको माग सम्बोधनका लागि सरकारलाई ज्ञापनपत्र बुझाईसकेको बताउँदै विधार्थी मोर्चाका अध्यक्ष साहले त्यसको कुनै सुनुवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेकाले मधेस बन्द कार्यक्रम सफल र प्रभावकारी बनाउँनु सबै विद्यार्थीहरु सडकमा उत्रिनुपर्ने बताए । ‘मधेस प्रदेश सरकारमा सहभागि भएकाहरु भ्रष्टाचारमा लिप्त छन् ।समृद्धि, सुशासन तर्फ उनीहरुको ध्यान नै छैन् । जनताको माग सम्बोधन गर्नका लागि हामीले ज्ञापनपत्र बुझाउँदा समेत कुनै चासो दिएका छैनन्, विधार्थी मोर्चाका अध्यक्ष साहले भने, ‘जनताको माग सडकबाटै सम्बोधन गर्न सरकारलाई हामीले बाध्य पार्नेछौं । त्यसका लागि आजैदेखी तयारीमा जुटनुपर्छ ।’ विधार्थी मोर्चा मधेस प्रदेश कमिटीका अध्यक्ष राकेश बैठाको अध्यक्षतामा बसेको उक्त बैठकमा आजपाको मधेश प्रदेश ईन्चार्ज सुधिर यादव, प्रदेश अध्यक्ष उमेश कुशवाहा आजपको स्थायी कमिटीका सदस्यहरु बाबुराम कौशीक, कदम रसुल आम महिला मोर्चाका केन्द्रिय अध्यक्ष बबिता साह लगायतको विशेष सहभागिता रहेको थियो । आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वितिय पीडित संघर्ष समितिले ११ माघमा मधेस बन्द गर्ने घोषणा गरेको हो । आजपाले उठाउँदै आएको माग सम्बोधनका लागि सरकारलाई ज्ञापनपत्र बुझाउँने, जनकपुरधाममा प्रदर्शन, बिरगंजमा सरोकारवालासंग छलफल लगायतका कार्यक्रम गरिसकेको छ ।




























