
कलैया । बाराको सिम्रौनगढ नगरपालिका कलैयाबाट सञ्चालन हुने गरेको छ । सरकारले गाउँ गाउँमा सिंहदरबार र सर्वसधारणलाई सेवा दिने उदेश्यले पालिकाबाटै बिभिन्न सेवा उपलब्ध गराउँ खोजेपनि सिम्रौनगढबासी दुख पाईरहेका छन् । सिम्रौनगढ नगरपालिकाका मेयर किशोरीप्रसाद कलवार र निमित प्रमुख प्रशासकीय अधिकृत जयनारायण यादव सिम्रौनगढ नगरपालिकाबाट दिनुपर्ने सेवा कलैयाबाट दिने गरेका छन् । कुनै प्रकारको सिफारिस वा अन्य कुनै काम पर्यो भने सिम्रौनगढका सर्वसधारण कलैया आउँनुपर्ने बाध्यता रहेको छ । सिम्रौनगढ नगरपालिकामा प्रशासनिक भवन तयार भईसकेको छ । तर मेयर कलवारले सिम्रौनगढमा आफ्ना आफन्तको घर र कलैयामा आफ्नै घरबाट कार्यालय सञ्चालन गर्दै आएका छन् । सो वापत मेयर कलवारले ९५ हजार मासिक घरभाडा आफैले बुझने गरेका छन् । कलैयाबाट कार्यालय सञ्चालन भएपछि त्यहाँ रहेको नगर अस्पताल समेत अस्तव्यस्त भएको छ । पहिला २४ घण्टा सेवा उपलब्ध हुने सिम्रौनगढ नगर अस्पताल अहिले दिउसो मात्रै सञ्चालन हुने गरेको छ । मेयर कलवार र निमित प्रशासकीय अधिकृत यादवले नगर अस्पताल नियमित र २४ घण्टा सञ्चालन गर्न असफल भएका छन् । ५०औं लाखको औषधी तथा ल्याबको केमिकल म्याद गुजरेको अवस्थामा पुगेपछि नगरपालिकाले स्वास्थ्य संस्थामा पठाउँने गरेका छन् ।मेयर कलवार र निमित प्रशासकीय अधिकृत यादवले सर्वसधारणको जिवनसंग खेलवाड गरिरहेको स्थानीयले गुनासो गरेका छन् । सोही कारण नगर अस्पतालमा दिनहुँ आउने बिरामीको संख्या समेत घटेको छ । इन्धनमा खोटाला गरेपछि अहिले सिम्रौनगढ नगरपालिकाका मेयर कलवार विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको मुद्धा परेको छ । मेयर कलवारले कोतवाली स्थित आफ्नै जानकी आयल स्टोरबाट नगरपालिकालाई इन्धन उपलब्ध नगराई १२ लाख भुक्तानि गरेका थिए । तर अहिले चौकचौरहामा मेयर कलवारले अख्तियार प्रमुख प्रेम राईलाई नै मिलाईसकेकाले केही नहुने भन्दै गफ दिदै हिडने गरेका छन् ।नौ महिना अघि मुद्धा परेपनि कुनै प्रकारको कारवाही अख्तियारले नगर्दा उनले यस्तो गफ दिने गरेको बताइएको छ । मेयर कलवार र निमिति प्रमुख प्रशासकीय अधिकृत यादवले अहिले जानकी आयल स्टोरबाट इन्धन उपलब्ध गराएर कोतवाली स्थित कुशवाहा आयल स्टोरको नाममा भुक्तानी गर्ने गरेका छन् । मधेस प्रदेशले निजामति ऐन अहिले नल्याएको र स्थानीय सरकारले समेत कानून निर्माण नगरी मेयर कलवार र तत्कालिन प्रमुख प्रशासकीय अधिकृत दिनेश न्यौपानेको मिलेमतोमा छैठो तहका कर्मचारी यादवलाई सातौं तहमा स्तर बृद्धी गरी निमिति प्रशासकीय अधिकृत बनाइएको छ । कलवार र यादवको मिलोमतोमा सिम्रौनगढ नगरपालिकामा बिभिन्न शिर्षकमा अनियमितता समेत हुने गरेको छ । कलवार र यादवले बिभिन्न योजना नगरसभाबाट पारित नगरी भक्तानि गर्दै आएका छन् । यस्तै इन्धन, हडताल भएको समयको समेत बिद्यालयको खाजामा पैसा निकासा गरी भ्रष्टाचार गरेका छन् । शिक्षकको तलबको बिषयलाई लिएर सिम्रौनगढ नगरपालिकाका बिद्यालयमा ६ महिना भन्दा बढी हडताल हुँदा समेत कलवार र यादवले खाजाको रकम निकास गरी अनियमितता गरेका छन् ।




























