रौतहट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी नेताहरु आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् । नवप्रवेशीलाई पार्टीमा प्रवेश गराउदै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पार्टीको विधि, पद्धति, सिद्धान्त, बिचार अनुसार मुलुक निर्माणको अभियानमा जुटन आग्रह गर्दै पार्टीमा स्वागत गरेका छन् ।रौतहटमा आयोजित एक कार्यक्रमका बीचमा उनीहरु एमाले परित्याग गरी आजपामा प्रवेश गरेका हुन् । रौतहटको बामपन्थी नेता एवं एमाले गुजरा नगरकमिटीका उपाध्यक्ष शेख इजहार आलम, एमाले सप्तरी जिल्ला नेता प्रभुनारायण यादव, महोत्तरी जिल्ला निवासी समाजसेवी एवं व्यवसायी शंकर श्रेष्ठ लगायतका आजपामा प्रवेश गरेका हुन् ।श्रेष्ठ समाजसेवीका साथै नेपाल मानव अधिकार संगठनको मधेस प्रदेश प्रमुख एवं केन्द्रीय सदस्य समेत हुन् । समाजसेवा एवं मुलुक निर्माणमा निरन्तर लागेका नवप्रवेशी नेताहरुले आजपा पार्टी निर्माण र पार्टीको बिचार, सिद्धान्तको पालना गर्दै संगठन विस्तारको अभियानमा जुटने प्रतिबद्धता व्यक्त गरेका छन् ।अहिले व्यवस्थाले मुलुक र समाजको निर्माण नहुने बताउँदै आजपा अध्यक्ष साहले आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि हुने तेस्रो जनआन्दोलनको तयारीमा जुट्न निर्देशन दिएका छन् । अहिलेको भ्रष्ट एवं लुटकारी दलाल दलतन्त्रका बिरुद्धमा आम जनता सडकमा आउन तयार रहेको बताउदै उनले संगठन निर्माण गर्दै आम जनताको हकअधिकारका लागि जुटनुपर्ने बताए ।पार्टी प्रवेश कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष बिल्टु यादव, केन्द्रीय सदस्य इन्जिनियर प्रमोद राणा शाह लगायतको विशेष सहभागिता रहेको थियो ।