
राजविराज ।आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले जसपा नेपालका अध्यक्ष ‘भिजेको मुसा जस्तै’ र जनमत पार्टीका अध्यक्ष डा.सिके राउत ‘रंग फेर्ने छेपारो’ जस्तै भईसकेको टिप्पणी गरेका छन् ।आजपा मधेस प्रदेश कमिटीद्धारा आयोजित ‘भ्रष्टाचार बिरुद्ध मधेस यात्रा’ कार्यक्रमको आज बिहान राजविराजमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मधेसका लागि उपेन्द्र र सिके आवश्यक नभएको बताउदै उनले यस्तो टिप्पणी गरेका हुन् ।‘अहिले जसपा नेपाल अध्यक्ष पानीमा काँपेर बसेको मूसा जस्तै अवस्थामा छन् । उनी सत्ता पक्ष कि प्रतिपक्ष अहिले चिन्नै गाह्रो भएको छ’ आजपा अध्यक्ष साहले भने, ‘जनमतका अध्यक्ष सिके राउत त रंग फेर्ने छेपारोको जस्तै भईसकेका छन् । हातीको देखाउने दाँत र चपाउने दाँत फरक भए जस्तै उनको व्यवहोरा देखिन्छ ।’उपेन्द्र र सिके दुबैले मधेसमा विकास नभई विनाश गरिरहेको आरोप साहले लगाए । मधेसको शिक्षा, स्वास्थ्य, यातायात, रोजगार, उधोगधन्दा सबै क्षेत्र बर्बाद गर्ने नेताहरु मधेस प्रदेशमा सरकारको नेतृत्व गरेको बताउदै उनले मधेसको बिकासका लागि आम जनताको शासन हुन आवश्यक रहेको बताउ ।‘रबी लामिछाने पक्राउ पर्दा बिरोध गर्ने सिके राउत सत्ता पक्षमा गएर हस्ताक्षर गरे’ साहले भने । यद्यपी यो दुई पार्टीमा देश बनाउने, संघीयताका लागि लड्ने राम्रा नेताहरु पनि रहेको उनले बताए ।आजपा अध्यक्ष साहले आफ्नो पार्टीको मधेश प्रदेश समितिले भ्रष्टाचारबिरुद्धको जनजागरण अभियान शुरु गरेको बताए । भ्रष्टाचार के हो ?, यसलाई हटाउन जनताको भूमिका कस्तो हुनुपर्छ ? जस्ता बिषयमा जनजागरण ल्याउन अभियान शुरु गरिएको उनले बताए ।‘भ्रष्टाचार गर्नेलाई जनताको निगरानी छैन’ उनले भने, ‘भ्रष्टाचारबिरुद्ध जबसम्म जनताका चेतना आउँदैन, तबसम्म यो नियन्त्रण हुँदैन् ।’आफ्नो अभियानलाई रोक्न सरकार लागिपरेको आरोप उनले लगाए । ‘राजविराज आउने क्रममा शनिबार ठाउँ–ठाउँमा रोकेर प्रहरीले अनावश्यक दुःख दिएका छन्’ उनले भने, ‘माथिल्लो आदेश भन्दै प्रहरीले यसरी दुःख दिएको पाए ।’




























