
ढाका । बङ्गलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजीनामा माग गर्दै राष्ट्रपति भवन ’बङ्गभवन’ कब्जा गरेका छन् ।यस अघि मङ्गलबार दिउँसो प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्नौ नेतृत्वको समूह ’एन्टी–डिस्क्रिमिनेशन स्टुडेन्ट मुभमेन्ट’ले ढाकाको केन्द्रीय शहीद मिनारमा भएको र्यालीमा राष्ट्रपतिको राजिनामासहित पाँच बुँदे मागको घोषणा गरेको थियो ।राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग गर्दै मध्यराति बङ्ग भवनतर्फ अघि बढेका प्रदर्शनकारीहरु सेनाले ब्यारिकेड लगाएर रोकेको छ । प्रदर्शनकारीहरूले बङ्ग भवन बाहिर उभिएर बङ्गलादेशका राष्ट्रपतिको राजीनामाकाे नारा लगाउन थालेका छन् ।सरकारी जागिरका लागि आरक्षण प्रणाली अन्त्य गर्न माग गर्दै जुलाईमा बङ्गलादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको विरोध प्रदर्शनले सरकार विरोधी प्रदर्शनको रूप लिएको हो ।बढ्दो विरोधको पृष्ठभूमिमा, शेख हसिनाले ५ अगस्टमा प्रधानमन्त्रीको रूपमा राजीनामा दिएपछि बङ्गलादेशमा अन्तरिम सरकारको स्थापना भयो । हसिनाको राजीनामापछि हाल नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ ।




























