
काठमाडौं । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले मध्यपूर्वमा शनिबार भएका आक्रमणहरूको निन्दा गर्दै सबै पक्षलाई वार्तामा फर्कन आग्रह गरेका छन् । उनले यस्ता आक्रमणहरूले मृत्यु, विनाश र मानवीय पीडा मात्र निम्त्याउने बताएका छन् ।टर्कले विज्ञप्ति जारी गर्दै भनेका छन्, “म आज बिहान इजरायल र अमेरिकाद्वारा इरानमा गरिएका सैन्य आक्रमण र त्यसपछि इरानले गरेको प्रतिशोधात्मक प्रहारको निन्दा गर्दछु । कुनै पनि सशस्त्र द्वन्द्वमा सर्वसाधारणले नै ठूलो मूल्य चुकाउनुपर्छ ।”टर्कले मिसाइल र बमहरू मतभेद सुल्झाउने उपाय नभएको बताएका छन् । उनले थपे, “नागरिकहरूलाई यस्तो भयानक परिणामबाट बचाउन म संयम अपनाउन, सबै पक्षलाई विवेक प्रयोग गर्न, तनाव कम गर्न र वार्ताको टेबुलमा फर्कन आग्रह गर्छु । जहाँ उनीहरू केही घण्टा अघिसम्म सक्रिय रूपमा समाधान खोजिरहेका थिए ।”रुसी विदेशमन्त्री सर्गेई लाभरोभले आफ्ना इरानी समकक्षी अब्बास अरागचीसँग टेलिफोन वार्ता गर्दै अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको निन्दा गरेका छन् । रुसी विदेश मन्त्रालयका अनुसार उनले यी आक्रमणहरू तत्काल रोक्न आग्रह गरेका छन् ।कतारका अमिर र साउदी अरबका युवराजबीच भएको टेलिफोन वार्तामा जारी घटनाक्रम र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षामा यसले पार्ने प्रभावबारे छलफल भएको छ ।वार्ताको विवरण अनुसार, कतार र साउदी अरबले कुनै पनि किसिमको तनाव तत्काल रोक्न र वार्ताको टेबुलमा फर्कन आवश्यक रहेकोमा जोड दिएका छन् ।




























