
काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगोमा फैलिएको इबोला महामारी झन् भयावह बन्दै गएको छ। महामारीका कारण मृत्यु हुनेको संख्या एक हजार ३०९ नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ।सरकारी तथ्यांकअनुसार पछिल्लो पाँच दिनमै इबोलाबाट हुने मृत्युदर ४० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। जनस्वास्थ्य विज्ञहरूले भाइरस डढेलोझैँ तीव्र गतिमा फैलिरहेको भन्दै गम्भीर चेतावनी दिएका छन्।सरकारले शनिबार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार बिहीबारसम्म इबोला संक्रमण पुष्टि भएका तथा मृत्यु भएका व्यक्तिको कुल संख्या दुई हजार ९७३ पुगेको छ। यो संख्या अघिल्लो शनिबारको तुलनामा २७ प्रतिशतले बढी हो।संक्रमित र मृतक दुवैको संख्या तीव्र रूपमा बढ्दै गएपछि कंगोमा फैलिएको यो प्रकोप हालसम्मकै सबैभन्दा तीव्र गतिमा फैलिएका इबोला महामारीमध्ये एक बन्न सक्ने चिन्ता व्यक्त गरिएको छ।स्वास्थ्य अधिकारीहरूका अनुसार कंगोमा फैलिएको ‘बुन्दिबुग्यो’ प्रजातिको इबोला भाइरसले महामारी नियन्त्रणलाई थप चुनौतीपूर्ण बनाएको छ। मानिसमा संक्रमण गराउने इबोला भाइरसका चार प्रमुख प्रजातिमध्ये यो सबैभन्दा दुर्लभ मानिन्छ। हालसम्म यस प्रजातिविरुद्ध कुनै स्वीकृत खोप वा प्रभावकारी उपचार उपलब्ध नभएकाले स्वास्थ्य अधिकारीहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।



























