
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले डा. मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।मंगलबार बसेको केन्द्रीय समितिको बैठकले डा. ढकाललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य विनिता कडायतले जानकारी दिइन् ।रास्वपाले यसअघि ढकाललाई पार्टी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट हटाएको थियो । रास्वपाले ढकाललाई दोस्रो पटक स्पष्टीकरण सोधेको थियो। गत वैशाखमा इलाममा भएको उपनिर्वाचनपछि ढकालले विभिन्न जिल्ला भ्रमण गरेर पार्टीको समीक्षा प्रतिवेदन तयार पारेका थिए।रास्वपाले साधारण सदस्यबाट किन नहटाउने ? भन्दै दुई पटक ढकाललाई स्पष्टीकरण सोधेको थियो । ढकाललाई २४ घण्टाभित्र स्पष्टीकरण दिने गरी यसअघि सचिवालय र केन्द्रीय समिति बैठकले पत्र पठाएको थियो ।ढकालमाथि पार्टीको हितविरुद्ध गतिविधि गरेको आरोप छ । यसअघि पार्टीले पटक-पटक स्पष्टीकरण सोध्दा पनि ढकालले पार्टी सभापति रवि लामिछानेमाथि नै अनेक लाञ्छना लगाउँदै जवाफ फर्काएका थिए ।




























