
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट समिति गठन गर्नुका साथै संगठन विस्तार र पार्टी सञ्चालनसम्बन्धी विभिन्न निर्णय गरेको छ।रास्वपा सभापति रवि लामिछानेको अध्यक्षतामा शनिबार अबेरसम्म बसेको केन्द्रीय कमिटी बैठकले स्थानीय तह निर्वाचन, संगठन सुदृढीकरण तथा पार्टीको व्यवस्थापनसँग सम्बन्धित निर्णय गरेको हो। बैठकका निर्णयबारे पार्टी प्रवक्ता जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन्।बैठकले आगामी स्थानीय तह निर्वाचनका लागि महामन्त्री विपिन आचार्यको संयोजकत्वमा केन्द्रीय उम्मेदवार छनोट समिति गठन गरेको छ। समितिमा तोसिमा कार्की, मिलन लिम्बूलगायतका नेता सदस्य रहेका छन् भने सातै प्रदेशका सभापतिहरूलाई समेत सदस्यका रूपमा राखिएको छ।त्यस्तै, पार्टीका १४ वटा केन्द्रीय विभागमा प्रमुख, उपप्रमुख तथा सदस्यहरू मनोनयन गर्ने निर्णय गरिएको छ।रास्वपाले संगठन सुदृढीकरणका लागि आगामी असोज २० देखि २७ गतेसम्म देशव्यापी ‘हामी आउँदैछौँ’ विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। अभियानअन्तर्गत पार्टीका सबै सांसद तथा केन्द्रीय सदस्यलाई ७७ जिल्लाका ७५३ वटै स्थानीय तहमा परिचालन गरिने प्रवक्ता खरेलले बताए।अभियानको रोस्टरअनुसार सांसदहरूलाई उनीहरूको आफ्नै निर्वाचन क्षेत्र वा जिल्लाभन्दा फरक जिल्लामा समेत परिचालन गरिने उनले जानकारी दिए।बैठकले मधेश प्रदेशमा देखिएको पार्टीगत विवाद समाधानका लागि सहमहामन्त्री हरि ढकालको नेतृत्वमा गठित कार्यदलले पेश गरेको प्रतिवेदनमाथि अध्ययन गरी आवश्यक कदम चाल्ने निर्णयसमेत गरेको छ।यसैगरी, काठमाडौं उपत्यकामा पार्टीको स्थायी कार्यालय स्थापनाका लागि उपयुक्त जग्गा वा घर खोजी गर्ने निर्णय भएको छ।सरकारमा पार्टीको पछिल्लो ६ महिनाको सहभागिता सन्तोषजनक रहेको निष्कर्ष निकाल्दै रास्वपाले आगामी दिनमा विकास निर्माण तथा सुशासनको गतिलाई थप तीव्र बनाउनुपर्नेमा जोड दिएको छ।



























