
काठमाडौँ — सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक आज (मङ्गलवार) बिहान ११:१५ बजे बस्दैछ। आजको बैठकमा भारत, चीन र अमेरिकासहित १३ देशका लागि प्रस्तावित राजदूतहरूविरुद्ध परेका उजुरीहरू खोल्ने र उनीहरूले पेस गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गर्ने मुख्य कार्यसूची रहेको छ।यसअघि गत असोज ८ गते बसेको समितिको बैठकले सुनुवाइ प्रक्रिया अगाडि बढाउँदै उजुरी आह्वान गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को असोज २ गतेको बैठकले १३ देशका लागि नयाँ राजदूतहरूको नाम सिफारिस गरेको हो।
सिफारिस गरिएका नामहरूमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा रहेका छन्।त्यस्तै, संयुक्त अधिराज्य (यूके) का लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जबरा, जापानका लागि जिज्ञनकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचन प्रस्तावित भएका छन्। यसैगरी जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारको नाम सिफारिस गरिएको छ।संवैधानिक व्यवस्थाअनुसार प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि सम्बन्धित देशबाट सहमति (एग्रिमो) आउने प्रक्रिया अघि बढ्नेछ र त्यसपछि राष्ट्रपतिबाट राजदूत नियुक्त गरिनेछ



























