काठमाडौँ- नेकपा माओवादी केन्द्रले प्रदेशस्तरमा संयुक्त परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ ।बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी समिति बैठकले सवै प्रदेशमा निरन्तर संयुक्त परामर्श समितिको बैठक बस्ने निर्णय गरेको हो । परामर्श समितिको सवै बैठकमा अध्यक्षदेखि उपमहासचिवसम्मका नेताहरु सहभागी हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो । उहाले बागमतीमा भदौको ५ देखि ६, उपत्यका विशेष प्रदेशमा ७ देखि ८ गण्डकीमा ९ देखि १०, सुदूरपश्चिममा १२ देखि १३, कर्णालीमा १४ देखि १५ गते, लुम्बिनी प्रदेशमा भदौको १६ देखि १७ गते बैठक बस्ने बताउनुभयो । त्यस्तै भाद्र ३० गतेसम्म अन्य प्रदेश, मोर्चा, मञ्च लगाएको बैठक हुने माओवादी केन्द्रले जनाएको छ । सवै प्रदेशको बैठक सम्पन्न भएपछि व्यवस्थीत दस्तावेज तयार पारेर असोज पहिलो साता केन्द्रीत कमिटीको बैठक बस्ने सापकोटाले जानकारी दिनुभयो । त्यस्तै बैठकले सदन, सडकलाई सशक्त पार्दै र माओवादीले जितेका १ सय २२ स्थानीय तहलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय गरेको उहाले बताउनुभयो । उहाले नेकपा एकीकृत समाजवादीलगाएतसंग एकताका लागि निरन्तर छलफल भइरहेको बताउनुभयो ।बैठकमा नेताहरुको कार्यबिभाजनका बारेमा भने कुनै निर्णय नभएको सापकोटाले उल्लेख गर्नुभयो । बैठकमा अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको मतभेद अन्त्य गर्दै पार्टीलाई बलियो बनाउदै लैजानुपर्ने बताउनुभएको थियो ।