
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले हुलाकी राजमार्ग निर्माणमा सरकारले विभेदकारी नीति लिएको आरोप लगाएका छन् । उनले राष्ट्रिय राजमार्गको सीमा निर्धारण गर्न सरकारसमक्ष माग गरेका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘अहिले देशमा निर्माण भैरहेको राष्ट्रिय राजमार्गको सडक सिमा कति हो भनेर हामी जान्न चाहन्छौं । हामी हेरिरहेका छौं कि राष्ट्रिय गौरवको रुपमा स्थापित राष्ट्रिय राजमार्गहरु मध्यपहाडी लोकमार्ग, हुलाकी सडक, मदन भण्डारी राजमार्गलगायत महत्वपूर्ण सडकहरुको सडक सिमा १२ मिटर गरिएको छ । सबैलाई थाहा छ कि सडकको लम्बाईको अनुपातमा चौडाई हुन्छ’ साहले भने, ‘जिल्लास्तरका साना सडकहरु ६ लेनका हुने राष्ट्रिय मार्गहरु दुई लेनका हुने ? हिजोपनि सडकहरु बनेका थिए । हिजो गाडी घोडाहरु कम हुँदा, सवारीसाधन कम हुँदा राष्ट्रिय राजमार्गका सडकहरुको सडक सिमा ५० मिटर कायम गरिएको थियो ।आज अरबौं, खरबौं लगानी गरेर १२ मिटरमा सडक निर्माण गरेर हामी के सन्देश दिन खोजेका छौं ? त्यसबाट के लक्ष्य प्राप्त गर्न खोजेका छौं । यसरी सरकारको बजेट दुरुपयोग गर्न मिल्छ ? यसरी हेलचेक्र्याँई गर्न मिल्छ ?’ उनले हचुवाको भरमा सडक निर्माण गर्नुपनि ठूलो रकमको दुरुपयोग हुनु भएको टिप्पणी गरे । ‘त्यसैले हामी भौतिकमन्त्रीसँग जान्न चाहन्छु, तपाईंले राजमार्गका सडकहरुको सडक सिमा किन निर्धारण गर्नुभएन ? के १२ मिटरको सडक सिमा भएका सडकहरुमा मेचिदेखि महाकालीसम्मका जनता हिँड्न सक्छन् ? यदि सक्दैनन् भने पैसाको दुरुपयोग किन गरिराख्नुभएको छ भन्ने प्रश्न आउँछ’ उनले भने, ‘हामी हेरिरहेका छौं कि भौतिक मन्त्रालयमा झण्डै डेढ खर्बको बजेट छ । देशको सबभन्दा पूरानो हुलाकी सडक, झण्डै ४० प्रतिशत जनता प्रत्यक्ष रुपमा जोडिएको सडकमा तीन अर्ब छुट्याईएको छ ।यस्तो विभेद किन गरिराख्नुभएको छ ?’ पूर्वमन्त्री समेत रहेका साहले राष्ट्रिय राजमार्गको सीमा निर्धारण गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । हाल मुलुकमा बनिरहेका राष्ट्रिय राजमार्ग र तिनको सीमाका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले जवाफ दिनुपर्ने उनको माग छ । अन्य राजमार्गमा बजेट अभाव हुन नदिने सरकारले हुलाकी राजमार्गमा बजेट कटौती गर्नुको कारण पनि सो राजमार्ग अलपत्र परेको उनले बताए । साथै उनले हुलाकी राजमार्ग कहिलेसम्ममा सम्पन्न हुने भन्दै सरकारसंग प्रश्न गरेका छन् । अहिले पनि दर्जनौ पुलहरु बनाउँनुपर्ने भए पनि ठेक्कासमेत नलागेको र कतिपय ठाउँमा सडक अलपत्र छोडिएको बताए ।




























