
काठमाडौं । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सञ्चालित लुम्बिनी चिनी मिलको प्रदूषण रोक्न माग गर्दै स्थानीय आन्दोलित भएका छन् । २०४६ सालमा तत्कालीन श्री ५ सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार सुनवल नगरपालिका वडा १ मा लुम्बिनी चिनी कारखाना लिमिटेड स्थापना भएको थियो । सो समयदेखि सञ्चालनमा रहेको चिनी मिल २०६२ सालमा निजीकरण भएको थियो । ८६ विगाहा क्षेत्रफलमा फैलिएको उक्त चिनी मिलमा चिनी मिल, स्प्रिट प्लान्ट र रक्सी उत्पादन प्लान्ट गरी ३ वटा कारखाना सञ्चालनमा छन् ।चिनी मिलको बढ्दो प्रदूषणले स्थानीयको जनस्वास्थ्यमा प्रतिकूल असर पारिरहेको भन्दै सुनवलवासीले लुम्बिनी चिनी उद्योग प्रदूषण नियन्त्रण संघर्ष समिति गठन गरेका छन् । चिनी मिलबाट सुनवल नगरपालिकाका वडा १, ३, ४ र ६ वडा प्रत्यक्ष मारमा परेको र यसबाट करिब ७० हजार जनसंख्या प्रभावित बनेको स्थानीयको भनाइ छ । चिनी मिलले विगत वर्षदेखि नै मिलबाट प्रदूषण न्यूनीकरणका लागि विभिन्न सहमति सम्झौता गरेपनि हालसम्म कार्यान्वयन नगरेको आरोप पनि स्थानीयले लगाएका छन् ।




























