
काठमाडौं । लगातार सात कारोबार दिन घटेको नेप्से आइतवार (आज) १० दशलमव ३७ अंक बढेर बन्द भएको छ । नेप्से परिसूचक २ हजार ९४ दशमलव ४६ विन्दुमा पुगेको हो । घटेको बजारमा कम्पनीका शेयर मूल्य सस्तो भएसँगै खरीदकर्ता आकर्षित भएको देखियो ।पछिल्लो समय घट्दो क्रममा रहेको बैंक ब्याजदर र अधिक तरलता अवस्थाले गर्दा शेयर बजारमा सकारात्मक प्रभाव पर्ने जानकारको भनाइ छ । यद्यपि शेयर बजार घटबढ भइरहन्छ । लगानी गर्नुपूर्व बजारको ट्रेण्ड र कम्पनीको समग्र अवस्था हेर्नुपर्ने उनीहरूको भनाइ छ ।यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १९ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ४२ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १९ प्रतिशत वृद्धि भएको छ ।आइतवार ३०६ धितोपत्रको १ करोड ७ लाख ५१ हजार १६४ कित्ता शेयर १ लाख ७८२ पटकमा रू. ३ अर्ब ८३ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । मिड सोलु हाइड्रोपावर र माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । मिड सोलुको शेयर मूल्य प्रतिकित्ता रू. ७५६ दशमलव ९० र माथिल्लो मैलुङ्ग खोलाको रू. ४४१ दशमलव १० पुगेको छ ।आइतवार सबैभन्दा बढी चन्द्रागिरी हिल्सका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ दशमलव ८६ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९४२ मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा इन्फिनीटी लघुवित्त छ । कम्पनीको शेयर मूल्य ६ दशमलव ४० प्रतिशत घटेर रू. ७५९ कायम भएको छ ।सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा हिमालयन रि इन्स्योरेन्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. ३३ करोड ५३ लाख बराबरको भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६४५ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा ङादी ग्रुप पावर कम्पनी छ । कम्पनीको रू. २३ करोड ५३ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये ९ समूहको परिसूचक बढेको छ भने बाँकी समूहको सूचक घटेको छ । आज सबैभन्दा बढी हाइड्रोपावर समूहको सूचक १ दशमलव ३३ प्रतिशत वृद्धि भएको छ भने होटल तथा पर्यटन समूहको सूचक १ दशलमव ८६ प्रतिशत घटेको छ ।




























