
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले निजी विद्यालयमा लगाइएको ३ प्रतिशत करसँगै करदाताका लागि विभिन्न आयकर छुटको व्यवस्था गरिएको बताएका छन् ।बिहीबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले निजी विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक खर्चलाई कर प्रणालीसँग आबद्ध गर्दै राहतका कार्यक्रम ल्याइएको स्पष्ट पारे ।उनले करदाताले आफ्नो आयलाई कर प्रणाली (ट्याक्स नेट) मा समावेश गरेमा वार्षिक १० लाख रुपैयाँसम्मको आयमा आयकर छुटको सुविधा पाउने बताए । उनका अनुसार निजी विद्यालयमा तिर्ने शुल्कलाई कर प्रणालीमा समावेश गर्दा अन्य खर्च व्यवस्थापनमा समेत सहयोग पुग्नेछ ।मन्त्री वाग्लेले निजी शिक्षामा लगाइएको ३ प्रतिशत कर आयकर छुटको व्यवस्थालाई सन्तुलन गर्न लागू गरिएको उल्लेख गरे । काठमाडौं बाहिर अधिकांश निजी विद्यालयको मासिक शुल्क ३ देखि ४ हजार रुपैयाँको हाराहारीमा रहेकाले ३ प्रतिशत करको प्रभाव न्यून हुने उनको भनाइ थियो ।उनले वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी हुने व्यक्तिले कर प्रणालीमा आबद्ध भएमा प्रभावकारी करदर करिब १ प्रतिशत मात्र रहने दाबी गरे । साथै, निजी विद्यालयमा बालबालिकाको शिक्षामा गरिएको खर्चमध्ये २५ हजार रुपैयाँ वा कुल शैक्षिक खर्चको २५ प्रतिशतसम्म कर छुटको सुविधा पनि उपलब्ध रहेको जानकारी दिए ।अर्थमन्त्री वाग्लेले करको दायरा विस्तार गर्दै करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले यी व्यवस्थाहरू बजेटमार्फत प्रस्ताव गरिएको बताए ।



























