
काठमाण्डाै - सरकारले आउँदो फागुन १३ गतेदेखि चैत ७ गतेसम्म देशभरि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन गर्ने भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले दादुराको सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्षमुनिका सबै बालबालिकाका लागि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।प्रवक्ता डा.बुढाथोकी अनुसार भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अतिसङ्क्रमित २१ जिल्ला र काठमाण्डौ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइनेछ । जाजरकोट र पश्चिम रुकुममा भने गएको कात्तिकमा भूकम्प गएपछि खोप अभियान सञ्चालन गरिएको थियो ।खोप अभियानकै क्रममा नियमित खोप लगाउन छुटेका बालबालिकालाई पनि लगाइने बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिनुभयो । दादुरा–रुबेला भएका बेला ज्वरो तथा शरीरमा राता बिमिरा आउने, रुघाखोकी लाग्ने, आँखा पाक्ने, समयमा उपचार नगरेर आँखा नदेख्ने समस्याका साथै कान पाक्ने, कान नसुन्ने, निमोनिया भएर श्वासप्रश्वासमा समस्या हुनेगर्छ ।सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै खोप अभियान सञ्चालन गर्न लागिएको सरकारले जनाएको छ । सरकारले अबको दुुई वर्ष अर्थात् सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न थालेको हो ।




























