
काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ। दशैंका समयमा औद्योगिक गतिविधि कम हुने भए पनि गार्हस्थ्य र सार्वजनिक क्षेत्रमा हुने विद्युत् खपतलाई मध्यनजर गर्दै प्रणालीको सुरक्षालाई प्राथमिकतामा राखिएको हो।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकालले प्रादेशिक कार्यालय र वितरण केन्द्रका प्रमुखहरूसँग भर्चुअल बैठक गर्दै चाडपर्वको अवधिभर विद्युत् आपूर्तिमा अवरोध हुन नदिन विशेष निर्देशन दिएका छन्।प्राधिकरणको दशैं लक्षित मुख्य तयारी र आग्रहहरू:तत्काल मर्मत सेवा: विद्युत् आपूर्तिमा अवरोध आएमा तत्काल सेवा सुचारु गर्न प्राविधिक टोलीहरूलाई देशैभर तयारी अवस्थामा (अलर्ट) राखिने।
पूर्वतयारी र मर्मत: प्रसारण लाइन तथा वितरण प्रणालीमा बाँकी रहेका मर्मतसम्भारका काम तत्काल सम्पन्न गरी सम्भावित प्राविधिक जोखिम न्यूनीकरण गर्ने।
प्रभावकारी 'नो लाइट' सेवा: दशैंको समयमा उपभोक्ताका गुनासाहरू तत्काल सम्बोधन गर्न 'नो लाइट' को फोन सेवा र गुनासो व्यवस्थापनलाई थप चुस्त बनाइने।
सुरक्षित विद्युत् प्रयोगको अपील: चाडपर्वका बेला घरका विद्युतीय उपकरण र तारहरूको अवस्था जाँच गर्न, गुणस्तरहीन सामग्री प्रयोग नगर्न र समस्या देखिएमा दक्ष प्राविधिकको मात्र सहयोग लिन उपभोक्तालाई आग्रह।प्राधिकरणले विद्युत् माग र आपूर्तिको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ। विद्युत् आपूर्तिसम्बन्धी कुनै पनि समस्या वा गुनासो भएमा उपभोक्ताले आफ्नो नजिकको वितरण केन्द्र वा सम्बन्धित ‘नो लाइट’ सेवामा सिधै सम्पर्क गर्न सक्नेछन्। थप जानकारीका लागि नेपाल विद्युत् प्राधिकरणको आधिकारिक वेबसाइटमा सम्पर्क गर्नुहोस्।



























