
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ढाँटछल गरेर एमालेले कांग्रेससंग गठबन्धन गरेको बताउनुभएको छ ।सिंहदरबारमा बुधबार बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले कांग्रेससंग सहमति भएपछि पनि एमाले अध्यक्ष केपी ओलीले आफुसंगको छलफलमा आफ्नो सरकारलाई समर्थन जारी रहने भन्दै ढाँटछल गरेको बताउनुभएको हो ।उहाले आफुले सदनमा विश्वासको मत लिने र त्यसपछिको अवस्थामा संसदमा सशक्त भूमिका निर्वाह गर्न सवै दलहरुलाई साथमा लिने बताउनुभएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो । बैठकले प्रधानमन्त्री प्रचण्डको पक्षमा विश्वासको मत दिन आफ्ना सांसदहरुलाई ह्वीप जारी गर्दै अन्य दलहरुसंग पनि विश्वासको मतका लागि अपिल गर्ने निर्णय भएको पाण्डेले बताउनुभयो ।संविधानको व्यवस्थाअनुसार नै विश्वासको मत लिन लागेकाले त्यसपछिको अवस्थामा पनि संवैधानिक व्यवस्था अनुसार नै सरकार बन्ने उहाले बताउनुभयो ।उहाले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै कसरी अघि बढ्ने भन्नेबारे पार्टीले थप रणनीति बनाउने जिकिर गर्नुभयो ।




























