
काठमाडौं । । काठमाडौंमा भएको काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिताको उपबिजेता नेपाली टिमका सदस्य र प्रशिक्षकलाई काठमाडौं महानगरपालिकाले नगद १ लाख रुपैयाँसहित सम्मान गरेको छ ।यसैगरी सहायक प्रशिक्षकहरुले जनही ५० हजार रुपैयाँ पाए ।
उक्त खेल हेर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनीता डंगोल त्रिपुरेश्वरस्थित भलिबल कभर्ड हलमा पुगेका थिए ।
काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले 'खेल क्षेत्रको विकासका लागि खेलाडीको प्रयत्नलाई नतिजामा बदल्न सरकारी निकायले काम गर्नुपर्ने' बताए ।उपप्रमुख सुनिता डंगोलले 'खेलमा हार जित स्वभाविक हो ,सबैभन्दा महत्वपूर्ण कुरा त खेलाडीको ऊर्जा हो । महिला भलिवल टोलीमा हामीले त्यो ऊर्जा पायौं’डंगोलले भनिन्।खेलको प्राविधिक पक्षमा चर्चा गर्दै उपप्रमुख सुनिता डगोलले, उत्साह र जोश लिएर खेल मैदानमा जानु नै जित भएको उल्लेख गरिन् ।सम्मानका क्रममा मुख्य प्रशिक्षक भट्टले, महानगरपालिकाको प्रोत्साहनले आगामी प्रतिस्पर्धामा दक्षिण एशियाली मुलुकहरुमा उत्कृष्ट नतिजा प्राप्त गर्ने हौसला मिलेको उल्लेख गरे ।कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, सामाजिक समितिका संयोजक रामकुमार केसी., वित्त समितिका संयोजक इश्वरमान डंगोल, राजस्व समितिका संयोजक नवराज पराजुलीसहित पदाधिकारीहरुले खेलाडीहरुलाई सम्मान तथा प्रोत्साहन प्रदान गरेका थिए ।काठमाडौँको दशरथ रङ्गशालामा बुधबार भएको फाइनल खेलमा ३–२ सेटले भारत विजेता र नेपाल उपविजेता भएका हुन् । राउन्ड रोबिन लिगमा नेपालले भारतमाथि विजय गरेको थियो । खेलमा ५ वटा देश सहभागी थिए । सन् २०१९ मा भएको १३ औँ दक्षिण एशियाली खेलकुदको भलिवल खेलमा पनि नेपालले यही अवस्थाको सामना गर्नु परेको थियो । उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३–० सोझो सेटमा हराएको थियो । भारतलाई फाइनलमा हराउन सकेको भए नेपाली महिला भलिबल इतिहासमा ठूलो उपाधि हुने थियो ।




























