
काठमाडौं। सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति जुटेको छ ।ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्का, सिन्धुपाल्चोका सांसद मोहनबहादुर बस्नेत विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगाएत सरकोरवाला र आयोजनाबीच भएको छलफलमा सहमति जुटेको छ । बाह्रबिसे नगरपालिका–५ स्थिति आयोजनाको विद्युतगृहको स्वीचयार्डबाट सोही नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा १४ महिनादेखि स्थानीय बासिन्दाको अवरोध थियो ।२२० केभी सिङ्गल सर्किट प्रसारण लाइनका लागि १३ वटा टावर निर्माण गरिएको थियो । तर, बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँतीका स्थानीय बासिन्दाको अवरोधका कारण आयोजनाले २ किलोमिटर तार तान्न सकिरहेको थिएन । उक्त दुई किलोमिटरमा पर्ने प्रसारण लाइनको मार्गधिकारमा १२४ जना जग्गाधनीको जग्गा पर्दछ ।छलफलमा आयोजनाले संस्थापक सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत नगरपालिकामार्फत बाह्रबिसे नगर अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउने सहमति भएको छ ।आयोजनाको प्रभावित क्षेत्रअन्तर्गत बाह्रबिसे नगरपालिका–३ र ४ वडालाई पनि समावेश गराई अन्य प्रभावित क्षेत्रलाईजस्तै विकास निर्माण कार्यका लागि सहायता उपलब्ध गराउने, प्रसारण लाइनको मार्गधिकार पर्ने जग्गा तथा संरचनाहरुको उचित क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ । यसैगरी, प्रसारण लाइनको बाँकी रहेको निर्माण तत्काल सुरु गर्ने सहमति जुटेको छ ।मध्यभोटेशीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरिएको छ । २०० केभी प्रसारण लाइनबाट बाह्रबिसे सबस्टेसनमा पुगेको विद्युत्लाई सोही सबस्टेसनमार्फत १३२ केभीमा झारेर १३२ केभी प्रसारण लाइनबाट प्रवाह गरिने प्राधिकरणले जनाएको छ ।




























