
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रंगशालालाई दुरुपयोग नगर्न सम्बन्धीत निकायको ध्यानाष्कर्षण गराउनुभएको छ । .बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४ प्रतियोगितामा सहभागी खेलाडीलाइ सम्मान गर्दै प्रधानमन्त्री ओलीले दशरथ रंगशालाको खेल हुँदा मैदान हिलाम्मे हुनु दुःखद् भएको र उक्त रंगशालालाई स्तरीयबाहेक अन्य खेलमा दुरुपयोग नगराउन ध्यानाकर्षण गराउनुभएको हो । उहाले एउटा खेलका लागि बनाइएको पूर्वाधारलाई अन्य प्रयोजनमा उपयोग गर्न नहुने जिकिर गर्नुभयो । उहाँले आफ्नो पदबहालीका दिन कीर्तिपुर खेल मैदानलाई तीन सय दिनभित्र स्तरोन्नती गर्ने निर्णय गरेको स्मरण गर्दै त्यसको कार्यान्वयन गरिने अवगत गराउनुभयो । प्रधानमन्त्री ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको राम्रो तयारी गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।त्यस्तै उहाले महिला भलिबल खेलाडीले हालसम्म पाएको सफलताप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा नयाँ कीर्तिमान कायम गर्ने गरी मेहनत गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली टोलीका क्याप्टेन अरुणा शाहीसहित १४ खेलाडीलाई जनही रु तीन लाख, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई रु दुई लाख, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्यलाई र फिजियो लोकेन्द्र कुँवरलाई जनही रु एक लाख २० हजार राशीसहित पुरस्कार प्रदान गरिएको हो । गत साउन १७ देखि २३ गतेसम्म काठमाडौँमा भएको उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शनसहित दोस्रो स्थान हासिल गरेको थियो ।




























