
काठमाडौं । नेपाल हज समितिले हज यात्रामा जान चाहने इस्लाम धर्मावलम्बीहरुका लागि आवश्यक सहजीकरण भइरहको जनाएको छ ।समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हज यात्रामा जान चाहने धर्मावलम्बीहरुका लागि आवदेन खुल्ला भइसकेको र हजयात्राको आवश्यक सहजीकरणको तयारी भइरहेको जनाएको हो । सन् २०२५ मा हज यात्राका लागि साउदी अरेबियाको मक्का मदिना जान चाहनेहरुसँग समितिले करिव १ महिनाअघि नै आवदेन खुला गरेको छ । सन् २०२५ का लागि नेपालबाट एक हजार दुई सय जना इस्लाम धर्मावलम्बीहरुले हज यात्रा गर्न सक्नेगरी साउदी अरब सरकारबाट कोटा निर्धारण भएको समितिले जनाएको छ । पत्रकार सम्मेलनमा समितिका अध्यक्ष इश्रा मुल्ला मियाले समितिले आवश्यक सहजीकरणको काम भइरहेको भन्दै धेरै भन्दा धेरै सहभागीता जनाउन आग्रह गर्नुभयो । उहाले धेरै आर्थिक भार नपर्ने गरि कम भन्दा कम रकममा हज यात्रा गराउने गरि समितिले तयारी गरिरहेको जानकारी दिनुभयो । हज गर्न इच्छुक नेपाली मुस्लिम धर्मावलम्बीहरुले नेपाल हज समिति फारम भरि आवश्यक रकम आफैले व्यवस्था गर्नुपर्ने प्रावधान रहेको छ । गत बर्षको १२ सय जनाको कोटामध्ये ७ सय ६४ जना हजयात्रामा गएका थिए भने दुई जनाको यात्राका क्रममा मृत्यु भएको थियो । त्यस्तै गतबर्ष हज यात्राका लागि प्रति व्यक्ति ४ लाख १५ हजार रुपैया उठाइएको थियो । जसमध्ये प्रति व्यक्ति २३ हजार रुपैया जोगिएकाले सम्बन्धीत व्यक्तिको खातामा फिर्ता पठाउने तयारी भइरहेको समेत समितिले जनाएको छ ।




























