
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र आज अपराह्न हुने भएको छ । महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण सोमबार तय गरिएको बन्दसत्र स्थगित भएपछि आजका लागि पुनः तयारी गरिएको हो ।रास्वपा नेता मनिष झाले प्रतिनिधिसम्बन्धी विवाद समाधानपछि मंगलबार अपराह्न बन्दसत्र सञ्चालन गरिने जानकारी दिएका छन् । महाधिवेशनको कार्यतालिका अनुसार सोमबार बिहान सुरु हुनुपर्ने बन्दसत्र पटक–पटक सारिएको थियो ।उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुने बन्दसत्रमा अनुशासन आयोगको प्रतिवेदन, आर्थिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गरिनेछ । छलफलपछि ती प्रतिवेदन पारित गरी अन्तरिम व्यवस्थापन समिति घोषणा गर्ने र त्यसपछि आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने तयारी गरिएको छ । त्यससँगै नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुनेछ ।महाधिवेशन प्रतिनिधिको नामावली सच्याउन समय लागेकाले बन्दसत्र सुरु हुन नसकेको रास्वपाका नेताहरूले बताएका छन् । सोमबार बिहानदेखि नै बन्दसत्र स्थलमा प्रतिनिधिहरू उपस्थित भए पनि कार्यक्रम सञ्चालन हुन सकेको थिएन । केही प्रतिनिधिले उम्मेदवारी घोषणा गर्दै मत माग्नसमेत सुरु गरेका थिए ।बन्दसत्र स्थगित हुँदा रास्वपाको पहिलो महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ भने महाधिवेशन केही लम्बिने संकेत देखिएको छ । यस महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिनेछ । महाधिवेशनको उद्घाटन आइतबार सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले गरेका थिए ।



























