कास्की । पाेखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ घन्टा बित्दा पनि जहाज कहाँ गयो भन्ने पत्ता लगाउन सकिएको छैन।
नेपाली सेना र फिस्टेल एयरको हेलिकप्टरबाट धौलागिरि रेन्जमा खोजी कार्य जारी राखिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी जहाज सम्पर्कविहीन भएका सम्भावित क्षेत्रमा हिँडेरै पुगेका छन्।जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी रामकुमार दानीले सम्पर्कविहीन जहाजको खोजी जमिन र आकाशबाट गरिएको बताए।जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली, ३१ नम्बर गुल्म हेडक्वार्टरबाट सशस्त्र प्रहरी र नारायण दल गणबाट नेपाली सेना परिचालन भएका छन्।
‘फिस्टेल एयरको हेलिकप्टर सम्भावित क्षेत्रमा तीन पटक पुगेर फर्केको छ। फेरि जाँदैछ,’ उनले सेतोपाटीसँग भने, ‘नेपाली सेनाको हेलिकप्टर पनि भर्खरै आइपुगेको छ, सम्भावित क्षेत्रमा सेनाको हेलिकप्टर जाँदैछ।’धौलागिरि रेन्जतर्फ केन्द्रित गरी खोजी कार्य जारी राखिएको उनले जानकारी दिए।