
काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सवै दलको सहमतिमा संविधान संशोधन गरिने बताउनुभएको छ ।संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित बिशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन केही हदसम्म संविधान संशोधनको माध्यमबाट पनि गर्न सक्ने भन्दै यसका लागि सवै दलहरुबीच सहमतिको अधिकतम प्रयास गरिने बताउनुभयो ।संविधानको संशोधन भनेको लिखत र मर्म अनुसार नभएका वा बाधा पुगेको ठाउँमा परिवर्तन गर्नु र विद्यमान संविधानका अमिल्दा पक्षमाथि संशोधन गर्नु भएको उहाले बताउनुभयो । प्रधानमन्त्री ओलीले जनताका अधिकारीलाई अझ सबल र प्रभावकारी बनाउन संविधान संशोधन गर्न लागिएको स्पष्ट पार्नुभयो ।प्रधानमन्त्री ओलीले सह–अस्तित्व र आपसी सद्भाव एवं पारस्पारिक सहयोग नै सबै जात जाति, भाषा भाषी, वर्ग, वर्ण र समुदायबीचको एकताको आधार भएको धारणा राख्नुभयो ।प्रधानमन्त्री ओलीले संविधानले नागरिकका मौलिक अधिकारलाई प्रत्याभूत गरेको र ती अधिकार कार्यान्वयनका लागि सरकारले आवश्यक नीति र कानुन तर्जुमा गर्न जोड दिएको बताउनुभयो ।उहाले अहिलेको राज्यव्यवस्था कुनै वंशको निरंकुश शासनको निरन्तरता नभएको र जनताले आफ्नो शासक आफैले छान्ने विधिद्वारा परिचालिन प्रगतिशील प्रणाली भएकाले पछाडी नफर्कने स्पष्ट पार्नुभयो । अहिले सामाजिक मर्यादालाई महत्व नदिने प्रवृतिहरु समाजमा देखिएको भन्दै प्रधानमन्त्री ओलीले यस्ता प्रवृतिहरु कदापी स्वीकार्य नहुने धारणा राख्नुभयो ।




























