


काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल लाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पौडेल का अनुसार पौडेललाई आज साँझ करिब ६ बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलको सभाहलबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार पक्राउपछि उहाँलाई थप अनुसन्धानका लागि स्थलमार्ग हुँदै नेपालगञ्ज लगिएको छ भने आजै काठमाडौँ पठाउने तयारी गरिएको छ।
उपाध्यक्ष पौडेल एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनःगठनसम्बन्धी सुझाव सङ्कलन कार्यक्रममा सहभागी हुन सुर्खेत पुग्नुभएको बताइएको छ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ स्थायी घर भएका पौडेल हाल ललितपुर महानगरपालिका–२५ स्थित सैबु आवास क्षेत्रमा बसोबास गर्दै आउनुभएको प्रहरीले जनाएको छ।
प्रहरी उपरीक्षक ठाकुरप्रसाद पौडेलको नेतृत्वमा खटिएको १० सदस्यीय विशेष प्रहरी टोलीले उहाँलाई नियन्त्रणमा लिएको जनाइएको छ।


© 2026: Dkura.com मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal