
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने भएको छ ।पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४ मा रहेको सूर्य दर्शन बचत तथा ऋण सहकारीको रकम गोरखा मिडिया प्रालिमा लगि ठगी गरेको अभियोग छ ।ठगी र संगठित अपराध अनुसन्धानमा उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएलगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामिछानेलाई शुक्रबार साँझ काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई शुक्रबार राति नै पोखरा लगिएको छ ।पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई पनि ६० दिन थुनामा राखेर अनुसन्धान गर्न सकिने बताइएको छ । सङ्गठित अपराध निवारण ऐन २०७० को दफा १४ ले दिएको अधिकारले लामिछानेलाई ६० दिन थुनामा राखेर अनुसन्धान गर्ने संभावना रहेको प्रहरी अधिकारीहरू बताउँछन् । सहकारी ठगीमा मात्रै अनुसन्धान गर्दा २४ दिनसम्म मात्रै थुनामा राख्न सकिने भए पनि सङ्गठित अपराधमा अनुसन्धान गर्दा थुन्ने अवधि बढ्ने देखिएको हो ।“लामिछानेलाई छुट्टै राखिएको छ । उनि विरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुन्छ,” प्रहरी नायब उपरीक्षक शर्माका अनुसार , “आज शनिबार बिदा भएको आइतबार मात्र अदालतमा पेस गर्छौँ ।”प्रहरीले सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान गर्ने जानकारी दिएको छ । सङ्गठित अपराधको सोही प्रकरणमा यस अघि नै पक्राउ परेका छविलाल जोशीसँगै लामिछानेको अनुसन्धान प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ ।सङ्गठित अपराधको अनुसन्धान गर्न ६० दिनको अवधी पाइने कानुनी व्यवस्था रहेको छ । यद्धपी गत असोज ६ गते पक्राउ परेका जोशीले २७ दिन थुनामा बसिसकेको हुँदा उनीसँगै लामिछानेको अनुसन्धान पनि ३३ दिनमै सक्ने गरि प्रहरीले तयारी गरेको बताइएको छ ।सहकारी रकम अपचलन सम्बन्धमा अनुसन्धान गर्न बनेको संसदीय छानबिन विषेश समितिले सहकारी ठगीमा संलग्न देखिएको भन्दै लामिछानेलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो ।




























