
काठमाडौँ । नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाउने प्रयास अस्वाभाविक भएको भन्दै प्रधानमन्त्रीले राजीनामा नदिने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको माओवादी पदाधिकारी बैठकले रातारात नयाँ गठबन्धन बनाउने कुरा अप्राकृतिक र अस्वभाविक रहेको भन्दैै प्रधानमन्त्रीले राजीनामा नदिने निर्णय गरेको हो । कुनै दलले समर्थन फिर्ता लिएपछि पनि विश्वासको मतका लागि एक महिना समय रहने भएकाले तत्कालै प्रधानमन्त्रीले राजीनामा नदिने निर्णय भएको माओवादी सचिव देवेन्द्र पौडेलले बताउनुभयो ।उहाले प्रधानमन्त्रीसंगको भेटमा एमाले अध्यक्ष केपी ओलीले एउटा कुरा गरेको र कांग्रेससंग अर्को छलफल गरेको आरोप लगाउनुभयो । उहाले संसद फेस गरेर विश्वासको मत लिने गरेर अघि बढ्ने र यसका लागि कांग्रेस, एमाले र रास्वपा लगाएतका दलहरुसंग छलफल गर्ने जिकिर गर्नुभयो । एमालेको कदम षडयन्त्र भएकाले प्रतिवाद नै गर्ने उहाको भनाइ छ ।सचिव पौडेलले लोकतन्त्रलाई संस्थागत गर्नका लागि माओवादीले पहल गर्ने बताउनुभयो । संविधान संशोधन गर्ने बिषयमा पार्टीले बुझ्न बाँकी रहेको भन्दै उहाले पछिल्लो परिवर्तन उल्टाउने खेल भइरहेको हो की भन्ने आशंका रहेको जिकिर गर्नुभयो ।




























