
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुले ऋणीहरुमाथि खराब साहुको जस्तो व्यवहार गरेको टिप्पणी गरेका छन् । पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले हरेक मानिसहरू जागिरको मुख ताकेर बस्ने गरेको बताएका हुन् ।ऋणी अप्ठ्यारोमा परेको बेला उसलाई सहयोग गर्नुको साटो झन् घाँटी निचोर्ने खालको व्यवहार बैंकबाट हुने गरेको प्रधानमन्त्रीको टिप्पणी छ ।उनले विदेशका विभिन्न मुलुकमा गएर नेपालीहरूले श्रम गर्ने तर स्वदेशमा रोजगारीका अवसर सृजना नहुने हो भने अर्थतन्त्रको उत्थान नहुने भएकाले विज्ञान प्रविधिको भरपुर उपयोग गरेर उत्पादन र उत्पादकत्व बढाउनुपर्छ भने, उनले विश्व बजारमा प्रतिस्पर्धी हुन सक्ने दक्ष जनशक्ति र धेरै भन्दा धेरै रोजगारी स्वदेशभित्रै सृजना गर्न लाग्नुपपर्नेमा जोड दिए।
कार्यक्रममा राष्ट्रिय सीप विकास प्रतिष्ठान र रोजगारदाता कम्पनीबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो । यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एकीकृत श्रम बजार सूचना प्रणाली विस्तारका लागि श्रम तथा रोजगार मन्त्रालय र स्वीस एजेन्सीबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।सोही अवसरमा ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले सम्मेलन सफलताको शुभकामना दिंदै रोजगारी अभिबृद्धिको वहस संसदमा पनि चल्नुपर्ने बताए ।
उनले भने,‘रोजगारी अभिबृद्धिको बहस संसदमा पनि चल्नु जरुरी छ । श्रम क्षेत्रलाई राज्यले प्राथमिकतामा राखे मात्र मुलुक समृद्ध हुनेछ,’ उनले अगाडि भने,‘राज्यले श्रमिकहरुको सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरण हुने नीति ल्याइ कार्यान्वयन गरेमात्र यस्ताखाले सम्मेलनले सार्थकता पाउनेछन् ।’




























