
काठमाडौं, २५ बैशाख । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले तराई/मधेशमा सशस्त्र प्रहरीको ज्यादती अति नै भएको भन्दै आक्रोश पोखेका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले सिमावर्ती क्षेत्रमा खटिएका सशस्त्र प्रहरीको भूमिकालाई लिएर प्रश्न उठाएका हुन् ।उनले भने,‘हिजो रौतहटको कटहरियामा सशस्त्र प्रहरीको टोलीले टेङगडहा निवासी अनुठा यादव र रामजिनिस साहजी कटहरिया बजारबाट फर्किरहेका थिए, तस्करको चक्करमा मोटरसाईकलमा ठोकिएर मोटरसाईकल ध्वस्त भएको छ । त्यसमा सवार दुई जनाको अहिले आईसियुमा उपचार भैरहेको छ । म गृहमन्त्रीज्यूलाई सोध्न चाहन्छु –यो घट्ना कसरी भयो ? सशस्त्र प्रहरीले किन यसरी ज्यादती गर्यो ? यो घट्नाको विषयमा सदनमा जानकारी गराउनुहोस । उपचार गराईरहेकाहरुलाई भेट्न कोही पनि गएकै छैन, सरकारलाई म भन्न चाहन्छु कि ती घाईतेहरुको उपचारको जिम्मा लिनुहोस । त्यस घट्नामा संलग्नहरुलाई कारबाही गर्नुहोस ।’पूर्वमन्त्री साहले सरकारका मन्त्रीहरु र अफिसरहरुलाई आफ्नो तलवले जीवन निर्वाह गर्न पुग्छ कि पुग्दैन ? भनेर पनि प्रश्न तेर्साए । उनले भने,‘के तपाईंहरुको तलबले पुग्छ कि पुग्दैन ? तपाईंहरुको बुवा, बाजेहरुको सम्पत्तिले आफ्नो खर्च धान्न सक्नुहुन्छ कि हुँदैन ? यदि पुग्छ भने यसरी व्यक्तिको निजी सम्पत्ति किन खोस्नुहुन्छ ? भन्सार नबुझाएकै कारण त्यो चोरीको सामान हुन्छ भने आयकर नबुझाउनेहरुसँग पनि सामान खोस्नुहोस न । सम्पत्ति लुकाउने र सम्पत्तिको कर नुबझाउनेहरुको पनि सम्पत्ति खोस्नुहोस न । ठूलाबडाले कर लुकाउँदा त्यहाँ नखोस्ने ? अनि भन्सार नबुझाएकै नाममा दिनदहाडै डकैती गर्ने, लुट्ने र कमिशन बाँड्ने ? ४५ प्रतिशत कमिशनकै नाममा आज तराईका मान्छे दिनदाहाडै लुटिएका छन् । र, उनीहरुको कोहीपनि सहारा छैन ।"किसानले आफ्नै पहलमा भारतबाट अत्यावश्यक सामग्री मलखाद ल्याउँदापनि प्रहरी प्रशासनले दिनदाहाडै लुट्ने काम गरेकोमा पनि साहले आक्रोश पोखे । उनले थपे–‘अहिले किसानलाई मलखाद सरकारले दिँदैन, किसानले आफ्नै पहलमा भारतबाट मलखाद ल्याउँदा प्रहरी नाकामा कुरेर बस्छन् अनि लुट्छन । प्रहरीलाई म भन्न चाहन्छु–हत्यारालाई तपाईंहरु पत्ता लगाउन नसक्ने ? बच्चादेखि युवाहरुको जीवन बर्बाद भैरहेको विषय लागुऔषधको जालो तोड्न नसक्ने, यत्रो चोरी–डकैती बढिरहेका छन्, उनीहरुलाई समात्न नसक्ने ? दिनदाहाडै मोटरसाईकल चोरिन्छन्, मोटर खोलिन्छन्, ती चोर एउटा पनि पत्ता लगाउनुहुन्न, तर किसानको खाद समात्नुहुन्छ, नून, चिनी, तेल समात्नुहुन्छ, के ती सामान चोरीका सामान हुन र ?’सिमा नाकामा जनताले ठूलो सास्ती भोगिरहनुपरेको उनको भनाई छ । उनले जनताको जिनी सम्पत्तिलाई चोरीको सामानजसरी खोस्ने कार्य भएको भन्दै आपत्ति जनाए । इमानदार प्रहरी अधिकारी भएको भए जनताको निजी सम्पत्ति लुट्दैनौं र आफूहरुलाई कमिशन चाहिँदैन भनेर भन्नसक्नुपर्ने साहको सुझाव छ ।




























