
काठमाडौं । मधेस प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।रक्कीप्रसाद साह र सुजित यादवले सोमबार (कात्तिक २४) रिट दायर गरेका हुन् ।रिटको पेसी कात्तिक २५ (मंगलबार)का लागि तोकिएको छ । उनीहरूले मधेस प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेस प्रदेशसभालाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।रिटमा संविधानको धारा १६८ को उपधारा २ जीवित रहेको अवस्थामा ३ अनुसार प्रदेश प्रमुखले सरकार गठन गर्नु असंवैधानिक रहेको जिकिर गरिएको छ ।कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्ण यादवले ७५ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित अर्को रिट सर्वोच्च लैजाने तयारी गरेका छन् ।उपचारका लागि काठमाडौं जान्छु भनेर बिदा भएकी मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बीचबाटोमा नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।




























