काठमाडौं । सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले एक महिनाका लागि लिएको विदा सकिएको छ ।तर उनले फेरि आफूलाई १० दिन विदा चाहिएको भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालमा पत्र पठाएका छन् ।आफ्ना एकजना सहयोगीमार्फत पोखरेलले विदाका लागि निवेदन दिएका हुन् । सरकारले आफूभन्दा कनिष्ठ एआईजी सिंहलाई आईजीपीमा बढुवा गरेको भन्दै असन्तुष्टि जनाएर उनी १८ वैशाखदेखि एक महिनाका लागि विदा बसेका थिए ।अर्का एआईजी सहकुलबहादुर थापाले पनि १० दिनका लागि विदा लिएका थिए । तर तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरेर उनी काममा फर्किएका थिए ।पोखरेल विदा बस्नुअघि मानव स्रोत तथा प्रशासन विभागका प्रमुख थिए । सरकारले मंगलबार मात्रै उनलाई सरुवा गरेर प्रदेश समन्वय विभागमा पठाएको छ भने हालै एआईजी बढुवा भएकी पुजा सिंहलाई मानवस्रोत विभागको प्रमुखको जिम्मेवारी दिएको छ ।पोखरेलले आईजीपी बढुवाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्, तर उनको पक्षमा अन्तरिम आदेश भएन । अदालतले उनको पक्षमा आदेश नदिए पोखरेलले २० साउनदेखि अवकाश पाउनेछन् ।