
काठमाडौं, २ फागुन । जनमत पार्टीका नेता राजकुमार साह सहित दर्जनौं नेताहरु आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् । रौतहटको क्षेत्र नं. १ का अध्यक्ष एवं यमुनामाई गाउँपालिकाको मेयर प्रत्यासी साह सहितका नेताहरु आज आजपामा प्रवेश गरेका हुन् ।आजपा संगठन विभाग प्रमुख एवं रौतहट–१ का उम्मेदवार त्रिभुवन साह ‘अमर’ले साहलाई पार्टीमा स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् । चुनावी छलफल एवं भेटघाटका क्रममा रौतहटको विभिन्न गाउँमा पुगिरहेका त्रिभुवनले सोही क्रममा जनमत पार्टी परित्याग गरेका राजकुमारलाई पार्टी प्रवेश गराएका हुन् ।आजपा प्रवेश गर्दै राजकुमारले उम्मेदवार त्रिभुवनलाई २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा विजयी बनाउने अभियानको कमाण्ड सम्हाल्ने र विजयी निश्चित गराउन सबैमा अपिल समेत गरे ।सिस्टम सुधार र स्थिर सरकारका साथै आजपा नै समृद्धिको आधार भएको बताउदै राजकुमारले जेनजी आन्दोलनका हत्यारा, भ्रष्टाचारी र हाईज्याकरलाई पहिचान गरी बहिष्कार गर्नुपर्ने र जेनजीको माग पुरा गराउन मोबाइल छापमा मतदान गर्नुपर्ने सबैमा आग्रह गरेका छन् ।रौतहट–१ का उम्मेदवार त्रिभुवनले आजै झिटकैया, सरउठा लगायतका गाउँमा चुनावी छलफल, भेटघाट गरेका छन् । भ्रष्टाचारी, लुटेरा, दलाल, जेनजी हत्यारा र हाईज्याकरलाई पहिचान गर्दै समृद्ध रौतहट र समृद्ध नेपाल निर्माणका लागि मोवाइलमा मतदान गर्नुपर्ने बताए ।यसैगरी जनमत पार्टी परित्याग गर्दै आजपामा प्रवेश गर्ने राजकुमार सहितका नेताहरुलाई आजपा अध्यक्ष प्रभु साहले पार्टीमा स्वागत गर्दै मोवाइल छापका उम्मेदवारलाई बिजयी बनाउने अभियानमा लाग्न शुभकामना व्यक्त गरेका छन् । पछिल्लो समय विभिन्न पार्टी परित्याग गर्दै आजपामा प्रवेश गर्नेको लहर चलेको आजपा संगठन विभाग प्रमुख एवं रौतहट–१ का उम्मेदवार त्रिभुवन साहले जनाएका छन् ।




























