
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट कुलपति, सदस्य सचिवलगायतका प्राज्ञहरूले अपमानजनक ढङ्गबाट बहिर्गमन हुनुपरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा ‘सरकारी नियुक्ति पदमुक्ति अध्यादेश’ जारी भएपछि अन्तिम पटक हाजिर गर्न, केही जरुरी डकुमेन्टहरूमा तोक लगाउन र आफ्ना सरसामानको कुम्लोकुटुरो टिप्न प्रज्ञा–प्रतिष्ठान पुगेका पदमुक्त कुलपति भूपाल राई, सदस्य सचिव धनप्रसाद सुवेदीलगायतका प्राज्ञहरूले अपमानजनक ढङ्गबाट बहिर्गमन हुनुपरेको हो । प्रज्ञा–प्रतिष्ठान कर्मचारी स्रोतका अनुसार पदमुक्त कुलपति राई र सदस्य सचिव सुवेदी गत मङ्गलबार १० बजेतिर प्रज्ञा–प्रतिष्ठान (प्रज्ञा भवन) पुगेका थिए । मन्त्रालयको आदेशमा प्रज्ञा–प्रतिष्ठान प्रशासनले पदमुक्त प्राज्ञहरूलाई लिन गाडी लिएर नजानका निमित्त चालकहरूलाई आदेश जारी गरिसकेको थियो तर सो आदेश थाहा नपाएका कुलपति र सदस्य सचिवका गाडी चालकले घर–घरमा पुगेर उनीहरूलाई लिएर जब प्रज्ञा भवन आए तब प्रज्ञा–प्रतिष्ठानका रुष्ट कर्मचारीहरूले गाडीको चाबी नियन्त्रणमा लिए । कार्यकक्षमा चाबी नै लगाइएको थियो । यस्तो कार्यबाट अपमानित भएको महसुस गरेका कुलपति राई अक्क न बक्क बनेर उभिइरहे । सदस्य सचिव सुवेदीले चाहिँ आफ्नो कार्यकक्षमा आफ्ना केही सरसमान भएको र त्यो लिन आफूलाई प्रवेश गर्न दिन अनुनय गरेपछि प्रशासनका एकजना कर्मचारीको रोहबहरमा उनलाई कार्यकक्षमा प्रवेश दिइयो ।सुवेदी केही सरसामन टिपेर बाहिर निस्किए र अब घर जानका लागि गाडीको व्यवस्था गर्नुप¥यो भनी फेरि अनुरोध गरे । तर, रष्ट कर्मचारीहरूले ‘सरी, मिल्दैन’ भने । त्यसपछि राइड सेरिङ ‘याङ्गो’ मगाएर उनीहरू प्रज्ञा भवनबाट नमिठो अनुभूतिसहित बाहिरिए । अन्य प्राज्ञहरूले भने अघिल्लो दिन र सोही दिन बिहानै प्रज्ञा भवन पुगेर आफ्ना कुम्लोकुटुरो टिपिसकेका थिए । प्रज्ञा–प्रतिष्ठानका एकजना कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने, “उहाँहरूले बढो अनुदार ढङ्गले काम गर्नुभएको थियो । आफ्नो नश्ल र विचारबाहेकका स्रष्टा–साधक र विद्वान्लाई प्रज्ञा भवनमा पूरै निषेध गरिएको थियो । प्रशासन प्रमुखलगायतका कर्मचारीवर्गलाई अत्यन्त अपमानजनक रूपले र पाँडेपजनी शैलीमा व्यवहार गर्नुभएको थियो । एक किसिमको जङ्गली राज नै चलाउनुभएको थियो । यसकारण पनि कुलपति राई र सदस्य सचिव सुवेदीप्रति प्रज्ञा–प्रतिष्ठानका कर्मचारीहरू निकै रुष्ट थिए । त्यसैको परिणाम हो— अपमानजनक बहिर्गमन । सायद यस्तो भएको प्रज्ञा–प्रतिष्ठानको इतिहासमै पहिला घटना हो ।” स्मरणीय छ— तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारका पालामा संस्कृतिमन्त्री सुदन किरातीको सिफारिसमा कुलपति राईसहितका व्यक्तिहरू प्रज्ञा–प्रतिष्ठानमा नियुक्त भएका थिए । देशमा राजनीतिक परिवर्तन भएर नयाँ सरकार आएको र सत्तापक्षले यसअघिका सरकारले नियुक्त गरेका पदाधिकारी तथा सदस्यहरूले राजीनामा दिन आग्रह गरे पनि उनीहरूले अटेर गरेर पद छाडेका थिएनन् । तर, आकस्मिक रूपमा पदमुक्ति अध्यादेश नै जारी भएपछि भने उनीहरू निरास भएका थिए । चार वर्षे कार्यकाल रहेका उनीहरूको पदावधि अझै दश महिना बाँकी थियो । आफ्नो पद जोगाउनका लागि कुलपति राईले रास्वपाको सरकार नयाँ स्पिरिटका साथ आएको भन्दै रास्वपाको सरकारबाट आफू निकै आशावादी भएको भन्दै मिडियामा अन्तर्वार्ता दिनुका साथै फेसबुकमा पोष्टसमेत गरेका थिए । केही प्राज्ञहरूले वर्तमान प्रधानमन्त्री र संस्कृतिमन्त्री लेखक–साहित्यकारसमेत भएको र उनीहरूसित आफ्नो निटकतम् सम्बन्ध रहेकाले आफूहरूलाई हटाउँदैन भन्ने गरेका थिए ।भूपाल राई एउटा त्यस्ता अभागी हुन्, जसले कहिल्यै पनि आफ्नो कार्यकाल पूरा गर्न पाएन् । पहिलो संविधान सभाको चुनावपछि बनेको पुष्पकमल दाहालको सरकारका पालामा संस्कृति मन्त्री गोपाल किरातीको सिफारिसमा उनी उही नेपाल प्रज्ञा–प्रतिष्ठानको उपकुलपति नियुक्त भएका थिए तर सिफारिस प्रक्रियामै त्रुटि भएपछि र सर्वोच्च मुद्धा परेपछि उनी नियुक्त भएको सात दिनमै पदमुक्त हनुपरेको थियो । त्यसपछि संस्कृति मन्त्री गोपाल किरातीले तत्कालै राईलाई सांस्कृतिक संस्थानको महाप्रवन्धक पदमा नियक्त गरेका थिए । उनी नियुक्त भएको ६ महिना नपुग्दै दाहालको सरकार ढल्यो र अर्कै मन्त्री आए । सो बेला पनि एउटा कार्यक्रमका लागि संस्थानको गाडी लिएर धरान पुगेका उनको गाडी मन्त्रालयको आदेशमै उनलाई त्यहीँ छोडेर तत्कालै काठमाडौँ फर्किएको सांस्कृतिक संस्थानले स्रोतले जनायो ।



























