
पुण्य प्रसाई
नेपालको इतिहासमा यस्तो मोडहरू धेरै आएका छन्। नेपालको राजनीति केवल अंकगणित होइन, यो स्मृतिहरू, वाचा, विश्वास र विश्वासघातहरूको लामो इतिहास पनि हो। कुनै पनि नयाँ गठबन्धन वा नयाँ शक्तिको उदय हुँदा नेपाली जनताले सधैँ दुईवटा कुरा सम्झन्छन्। एउटा इतिहासका धोका र अर्को इतिहासका महानता। अहिलेको परिस्थिति पनि त्यही दुई धारको बीचमा उभिएको जस्तो देखिन्छ।राजनीतिमा यो कल्पनै हुन नसक्ने विषय होइन । इतिहासका यस्तो धेरै पटक भएर नेपाल मध्यावधि निर्वाचनमा फसेको छ । रविले महान् त्याग देखाएका छन्, जुन त्याग इतिहासमा मदन भण्डारी र गणेशमान सिंहले देखाएका थिए । तर विचौलिया र दलाल छिरेर दुई नेतालाई उचालेर देउवा, ओली र प्रचण्डको जस्तो आलोपालोको विकृति नयाँमा नछिरोस् भन्ने चिन्ता पनि हो । यदि त्यस्तो केही भवितव्य भएर बालेनलाई ८–१० महिनामै हटाइयो भने हुन सक्ने तीन सम्भावित प्रतिक्रिया र परिणाम पनि हेरौं। यदि हटाउने प्रक्रिया असाधारण रूपमा अन्यायपूर्ण देखियो भने बालेनको पक्षमा सडक आन्दोलन र सामाजिक सञ्जालमा ठूलो समर्थन हुन्छ र उनी पछि बनेको सरकारको नैतिक वैधता कमजोर हुन थाल्छ । यो अवस्थासँगै काठमाडौँ केन्द्रित जनविद्रोह हुन सक्छ र विस्तारै यो विद्रोह शहरी युवामा बलियो हुँदै गाउँसम्म फैलिन्छ ।यदि हटाउने कारण राजनीतिक रूपमा व्याख्या गर्न सकिने बनाइयो भने विरोध कम हुन्छ तर उनी पछि बनेको सरकार टिकिरहने छ । यदि जनताले ठान्न थाले कि फेरि पुरानै खेल भयो भने नयाँ वैकल्पिक आन्दोलनको शुरुवात हुन्छ र नयाँ राजनीतिक शक्तिको जन्म हुन्छ । अथवा सबै यस्तै त रहेछन् नि भन्ने निराशा नेपालीमा फैलिन पनि सक्छ ।नेपालमा वाचा गरेर पछि सत्ता समीकरण बदलिएको उदाहरण नयाँ होइन। नेपाली कांग्रेसभित्रको इतिहासमा पनि यस्तो घटना देखिन्छ। एक समय गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउने वाचा गरेपछि केही समयमै हटाएको घटना नेपाली राजनीतिमा अक्सर चर्चा हुने उदाहरण हो। त्यस्तै अर्को समय केपी शर्मा ओलीले पुष्पकमल दाहाल, प्रचण्डसँग सत्ता साझेदारीको सहमति गरेको भए पनि पछि त्यो सम्बन्ध गम्भीर रूपमा बिग्रिएको इतिहास पनि सबैको स्मृतिमा छ। यसले नेपाली राजनीतिमा एउटा मनोवैज्ञानिक शंका पैदा गरिदिएको छ कि सत्ता नजिक पुगेपछि वाचा कमजोर हुन सक्छ।तर इतिहास केवल नकारात्मक उदाहरणहरूले मात्र बनेको छैन। नेपालमा ठूलो मन भएको नेतृत्वका उज्याला उदाहरणहरू पनि छन् जब मदन भण्डारी नेपाली वाम आन्दोलनको सबैभन्दा शक्तिशाली र लोकप्रिय नेता हुनुहुन्थ्यो त्यो समय उहाँसँग पार्टीभित्र अपार प्रभाव थियो। तर त्यस परिस्थितिमा पनि उहाँले आफ्नै शक्ति प्रदर्शन गरेर प्रधानमन्त्री बन्ने खेल खेल्नु भएन। उहाँले सानो कम्युनिस्ट धाराबाट आएका मनमोहन अधिकारीलाई सम्मानपूर्वक नेतृत्वमा अघि ल्याउनु भयो। त्यो निर्णय केवल राजनीतिक चाल होइन, राजनीतिक संस्कारको उदाहरण थियो। शक्तिशाली भएर पनि अरूलाई सम्मान दिन सक्ने छाती नै नेतृत्वको असली उचाइ हो भन्ने कुरा त्यसले देखायो।
त्यस्तै अर्को ऐतिहासिक क्षण नेपाली कांग्रेसभित्र देखिन्छ। पार्टीभित्र टकराव भएको समयमा पनि सुवर्ण शमशेर रानाले विशेष अधिवेशन बोलाएर विशेश्वप्रसाद कोइरालालाई पार्टी नेतृत्वमा ल्याउन सहयोग गर्नु भयो। पछि २०१५ सालको चुनावपछि बहुमत प्राप्त हुँदा पनि राजनीतिक बहस थियो। त्यही समयको राजनीतिक परिस्थितिमा नेतृत्व कसले लिने भन्ने प्रश्न जटिल थियो। तर अन्ततः नेतृत्वको प्रश्न केवल व्यक्तिगत महत्वाकांक्षाले होइन, ऐतिहासिक जिम्मेवारीले तय भयो।
अर्को अत्यन्त महत्वपूर्ण उदाहरण १९९० सालको जनआन्दोलनपछि देखिन्छ। त्यतिबेला आन्दोलनका सर्वोच्च नायकमध्ये एक गणेशमान सिंह आफैँ प्रधानमन्त्री बन्ने पूर्ण सम्भावना हुँदा पनि उहाँले त्यो अवसर त्यागेर कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बन्न दिनु भयो। त्यो निर्णयले उहाँलाई केवल नेता होइन, नैतिक उचाइ भएको व्यक्तित्वको रूपमा स्थापित गरिदियो।यी सबै उदाहरणहरूले एउटा गहिरो पाठ दिन्छन्। इतिहासमा महान मानिएका नेताहरू ती होइनन् जसले सत्ता जिते। महान ती भए जसले आफ्नो शक्ति अरूलाई सम्मानपूर्वक बाँड्न सके। यदि आज कसैले इतिहासमा ठूलो नाम लेख्न चाहन्छ भने उसले गणेशमान, बीपी र मदन भण्डारीजस्तै उदार छाती देखाउन सक्नुपर्छ।अहिलेको राजनीतिक परिस्थितिमा अर्को मनोवैज्ञानिक पक्ष पनि छ। रवि लामिछानेको जीवनयात्रामा लामो कानुनी संघर्ष र जेलको अनुभव जोडिएको छ। लामो समय अन्याय भएको अनुभूति बोकेको मानिसमा कहिलेकाहीँ प्रतिशोधको भावना बलियो हुन सक्छ। राजनीति मनोविज्ञानले भन्छ, अन्यायको अनुभवले मानिसलाई दुई दिशामा लैजान सक्छ। एउटा प्रतिशोधको बाटो र अर्को परिवर्तनको बाटो। यदि कुनै नेता प्रतिशोधको मनस्थितिमा गयो भने उसले शक्ति पाएपछि पहिले आफ्ना विरोधीहरूलाई देखाउन खोज्छ। तर यदि उसले इतिहासबाट सिक्यो भने उसले शक्ति प्रयोग गरेर नयाँ संस्कृति बनाउँछ।त्यहीँ अर्को चरित्र पनि देखिन्छ। बालेन शाहको सार्वजनिक छवि अपेक्षाकृत शान्त, काममुखी र विकासमुखी छ। यदि देशलाई दीर्घकालीन रूपमा परिवर्तन गर्ने लक्ष्य हो भने बालेनले बदला होइन निर्माणको सन्देश दिनु आवश्यक हुन्छ। उनले जनतासँग स्पष्ट सन्देश दिन सक्छन् कि राजनीति प्रतिशोधको ठाउँ होइन, परिणामको ठाउँ हो। यस्तो सन्देशले उनको नैतिक उचाइ बढाउँछ।राजनीतिमा एउटा महत्वपूर्ण नियम छ। जसलाई जनताले धोका खाएको महसुस गर्छन्, त्यो नेतृत्व छिटो कमजोर हुन्छ। नेपालमा यसअघि पनि तीन दलले प्रधानमन्त्रीको कुर्सीलाई पालैपालो खेल्ने म्युजिकल चेयर जस्तो बनाउँदा जनतामा गहिरो निराशा पैदा भएको थियो। यदि फेरि त्यही शैली दोहोरियो भने जनमतको प्रतिक्रिया धेरै कडा हुन सक्छ। किनकि अहिलेको जनमत विशेषगरी युवाहरूको अपेक्षा फरक छ। उनीहरू नारा होइन परिणाम खोजिरहेका छन्।
त्यसैले सम्भावित तनावबाट जोगिन बालेनको रणनीति अत्यन्त सूक्ष्म हुनुपर्छ। पहिलो काम जनतालाई निरन्तर विश्वासमा लिनु हो। दोस्रो युवालाई राजनीतिक परिवर्तनको साझेदार बनाउनु हो। तेस्रो रविसँग प्रतिस्पर्धा होइन सहकार्यको वातावरण कायम राख्नु हो। चौथो विदेशी शक्तिहरूलाई पनि नेपाल स्थिर र विकासमुखी दिशामा गइरहेको छ भन्ने विश्वास दिलाउनु हो। यसका लागि भारत, चीन र पश्चिमी देशहरूसँग सन्तुलित व्यवहार आवश्यक हुन्छ।
साथै बालेनले आफ्नो कामबाट परिणाम देखाउन सक्नुपर्छ। केही स्पष्ट सुधार, केही ठूला प्रतीकात्मक निर्णय र पारदर्शी शासनले नागरिक समाज, मिडिया र सामाजिक सञ्जालमा विश्वास बढाउँछ। जब समाजले देख्छ कि कुनै व्यक्ति वास्तवमै काम गरिरहेको छ, तब उसलाई हटाउन खोज्ने राजनीतिक चालहरू पनि कठिन हुन्छन्।राजनीतिमा अन्तिम निर्णय अक्सर शक्तिले होइन, नैतिक उचाइले तय गर्छ। इतिहासले देखाएको छ कि ठूलो नेता बन्ने अवसर धेरैलाई आउँछ तर त्यो अवसरलाई महानतामा रूपान्तरण गर्ने साहस थोरैले देखाउँछन्। यदि कसैले गणेशमान सिंह, बीपी कोइराला र मदन भण्डारीजस्तो उदार छाती देखाउन सक्यो भने त्यो केवल सत्ता साझेदारीको घटना हुँदैन, त्यो नयाँ राजनीतिक संस्कृतिको सुरुवात हुन्छ। नेपाल अहिले त्यही संस्कृतिको प्रतीक्षा गरिरहेको देश हो।



























