
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमाथिको अनुसन्धान जारी छ । तर नेपाल प्रहरीको आइतबारसम्मको अध्ययनको निष्कर्ष छ – नक्कली भुटानी शरणार्थी प्रकरणमा ३२ जना बढी संलग्न छन् । त्यस मध्ये मुख्य योजनाकार टोपबहादुर रायमाझीसहित ४ जना छन् । बालकृष्ण खाँण दोस्रो चरणमा संलग्न भएका हुन् । खाँण २०७८ पुस २९ मा गृहमन्त्री भए । त्यसपछि २०७९ पुस ११ सम्म गृहमन्त्री रहेका खाणसँग भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्ने गिरोहले मन्त्रालयमा नै भेटेर पटक–पटक छलफल गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीको अनुसन्धान अनुसार, मुख्य योजनाकार अन्य नै रहेपनि बालकृष्णलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहले दोस्रो चरणमा जोडेका थिए । यो प्रकरण अगाडि बढ्दा गृहमन्त्री रामबहादुर थापा बादल थिए । त्यसबेला बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, छोरा प्रतीक थापा र नेकपा एमालेका सचिव (हाल निलम्बन) टोपबहादुर रायमाझी योजना बनाएर अगाडि बढाएको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् । यस आधारमा प्रहरीले निष्कर्ष निकालेको छ – शरणार्थीको नाममा ठगी धन्दा चलाउने मुख्य योजनाकार टोपबहादुर रायमाझी, बादलका सुरक्षा सल्लाहकार डा. राई, मोरङ घर भएका केशव दुलाल र ललितपुर घर भएका सानु भण्डारी नै हुन् । अभियोग पत्रको ड्राफ्ट तयार यसअघि प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन पनि सरकारी वकिललाई बुझाउने भनेको थियो । तर अनुसन्धान गरिरहेको प्रहरीले अनुसन्धान जारी रहेको भन्दै आइतबार प्रतिवेदन बुझाएन । जिल्ला प्रहरी परिसर, काठमाडौंकाका अनुसार सरकारी वकिलसँग समन्वय गरेर काम भइरहेको छ । आइतबार राति काम सकेर सोमबार विहान अनुसन्धान प्रतिवेदन बुझाउने तयारी रहेको प्रहरीको छ । प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले अभियोग पत्र तयार गरी जिल्ला अदालतमा मुद्दा पेश गर्छ । अनुसन्धान प्रतिवेदन प्राप्त भए पनि सार्वजनिक भएका विवरणका आधारमा सरकारी वकिलको कार्यालयले अभियोग पत्रको ड्राफ्ट तयार पारेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका क्रममा हालसम्म १६ जना पक्राउ परेका छन् । जसमा एमाले नेता तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाँण, गृहमन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, पूर्वसभासद आङटावा शेर्पा, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा मामिला सल्लाहकार इन्द्रजित राईलगायत रहेका छन् । ओलीको चेतावनी – निदोर्ष नफसुन् प्रमुख प्रतिपक्षी नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकालगायत देशमा पठाउने प्रकरणमा दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने काम भइरहेको टिप्पणी गरेका छन् । प्रतिनिधसभाको आइतबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्ने क्रममा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको हात नहुने भन्दै प्रहरी प्रशासनलाई निष्पक्ष छानबिन गर्न दिनुपर्ने बताए । प्रमुख प्रतिपक्षी दलका नेता ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउन खोजिएको उनको आरोप छ । कसैलाई फसाउन वा कसैको पद रिक्त गराउनका लागि सरकार लागिपरेको उनको दाबी छ । उनले बयान र छानबिन प्रकरणलाई नजिकबाट एमालेले हेरिरहेको पनि बताए । आफ्नो प्रधानमन्त्री कार्यकालमा केही पनि नभएको बताउँदै ओलीले आफूमाथि पनि छानबिन गर्न चुनौती दिएका छन् । ‘म चुनौतीका साथ भन्न चाहन्छु म गृहमन्त्री भएँ, परराष्ट्रमन्त्री भएँ, प्रधानमन्त्री भएँ । छानबिन होस्, छानबिन गरियोस्, म चुनौतीका साथ भन्न चाहन्छु । हामी सधैं भ्रष्टाचारका विरुद्धमा छौं । छानबिन होस् भन्ने पक्षमा छौं,’ चेतावनीको शैलीमा उनले भनेका छन, ‘कोही पनि दोषी छुट्नुहुँदैन तर अहिले निर्दोष फसाउन प्रयास भइरहेको छ । म खबरदारी गर्न चाहन्छु, दोषी उम्काउने निर्दोष फसाउने यसप्रकारका प्रयास नगर्दा हुन्छ ।’ Source:Madhyanha




























