
काठमाडौं, ७ चैत । आम जनता पार्टी (आजपा)ले २१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको देखिएपनि यसको स्वच्छता र पारदर्शितामाथि प्रश्न उठाएको छ ।काठमाडौंको कमलादीस्थित् नेपाल प्रज्ञा प्रतिष्ठानमा आज (शनिबार) सम्पन्न आजपाको केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य एवं उम्मेदवारहरुले निर्वाचनको स्वच्छता र पारदर्शितामाथि गम्भिर प्रश्न उठाएका छन् ।
‘मतदान अधिकृतको हस्ताक्षर नमूना पहिला नै सुरक्षा निकायले संकलन गर्नु, मतदान प्रतिनिधिलाई मतपेटिकासंगै जान नदिनु, मतपेटिका संकलन केन्द्रमा प्रतिनिधिको पहुँच नहुनु र मतपत्र छपाईबारे विवादस्पद भनाई बाहिर आउनु जस्ता विषयले निर्वाचनमा धाँधली भएको आशंका पैदा भएको छ,’ बैठकमा नेताहरुले राखेको धारणाको सारांश उद्धृत गर्दै आजपा संगठन विभाग प्रमुख त्रिभुवन साहले भने ।यसैगरी आम संचारमाध्यम पनि सामाजिक सञ्जालमा निर्भर रहेको र सामाजिक मीडिया फेक आईडीको क्याप्चरमा रहेको सन्दर्भमा अन्य पार्टीको विचार र एजेण्डाहरू सहज ढंगले मतदातामा प्रवाहित हुन नसकेको भन्दै आजपाका नेताहरुले प्रतिस्पर्धा समान र स्वच्छ नदेखिएको निश्कर्ष सुनाएका थिए ।‘आम संचार माध्यम र सामाजिक सञ्जालद्वारा गरिएको अतिरञ्जित र एकतर्फी प्रचारलाई निर्वाचन आयोग र नेपाल सरकारले निगरानी र नियन्त्रण गर्न नसकेको । आचार–संहिताको खुलमखुला उल्लंघन हुँदा निर्वाचन आयोग मुकदर्शक देखिएको, निर्वाचनमा हावाहुरी, सत्ताशक्ति र सत्यनिष्ठा बीचको प्रतिस्पर्धा देखिएको । जेनजी आन्दोलनको रापतापबाट आएको ह्वीमले निर्वाचनलाई पुरै प्रभावित गरेको, चुनाव समयमा हुने÷नहुने अन्यौलताका कारण पनि कयौं पार्टी र उम्मेदवारहरू गतिहिन भएका, सम्पन्न निर्वाचनको परिणाम पनि अस्वाभाविक र अप्रत्याशित देखिएको निष्कर्ष आजपा बैठकले निकालेको छ ।बैठकले पार्टीको आगामी कार्ययोजनाको बारेमा छलफल गर्दै निर्वाचनको समिक्षासहित पार्टीको सम्पूर्ण कमिटीहरु पुर्नगठन गर्ने, पार्टीको नियमित बैठकसंगै जनसंगठनहरूको पनि बैठक र भेला गर्ने निर्णय गरेको छ ।यसैगरी विचार र एजेण्डा मिल्ने पार्टीहरूसंग एकता र सहकार्यको पहल गर्ने, पार्टीले उठाउँदै आएका जनपक्षीय मुद्दाहरूलाई सम्बोधन गराउन सरकारसमक्ष निरन्तर पहल गर्ने, नयाँ सरकारलाई गुण र दोषको आधारमा समर्थन वा विरोध गर्ने, राष्ट्रियता जोगाउन, अर्थतन्त्र बचाउन र लोकतन्त्रलाई सुदृढ गर्दै सामाजिक न्याय स्थापित गर्न आजपाले उठाएका विचारलाई व्यापक रूपमा जनतासम्म पुर्याउने, जेनजी आन्दोलनका मुद्दाहरूलाई सम्बोधन गर्न÷गराउन पहल गर्ने निर्णय गरेको आजपा सचिवालय सदस्य सुभाष साहले जनाएका छन् ।वर्तमान राजनीतिक अवस्थाको बारेमा छलफल गर्दै बैठकले देशमा आम निर्वाचन सम्पन्न भए पनि अन्यौलता कायमै रहेको, दुईतिहाईको जनादेशले देशमा स्थिरता, सुशासन र विकास तीव्र हुने जनपेक्षा देखिएपनि पुरानो राज्यसंरचना र नयाँ नेतृत्वबीचको विरोधाभाषपूर्ण सम्बन्धले अपेक्षित नतीजा दिन नसक्ने निष्कर्ष निकालेको छ ।निर्वाचनबाट निर्वाचित नयाँ नेतृत्व एवं गठन हुने नयाँ सरकारले राष्ट्रिय सुरक्षा र अन्तराष्ट्रिय सम्बन्धलगायतका संवेदनशील विषयलाई कसरी अगाडि बढाउने भन्ने विषय सन्देहपूर्ण नै रहेको निष्कर्ष आजपाको छ ।आम निर्वाचनपश्चात् राजनीतिक पार्टीहरूका विघटन, ध्रुवीकरण र पुर्नगठनको प्रक्रिया तीव्र भएको, विश्वमा बढ्दो राजनीतिक तनावबाट नेपालको राजनीतिक आर्थिक क्षेत्रमा पर्ने प्रभावले नयाँ समस्या उत्पन्न हुने निष्कर्ष बैठकको छ ।




























