
काठमाडौँ । नेपाली पर्वतारोहणका जीवित किंवदन्ती Kami Rita Sherpa ले विश्वकै सर्वोच्च शिखर सगरमाथामा ३२औँ पटक सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमानलाई फेरि विस्तार गरेका छन् ।५६ वर्षीय कामिरिताले आइतबार बिहान १० बजेर १२ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेर इतिहासमा अर्को गौरवपूर्ण अध्याय थपेका हुन् । यसअघि उनले गत वर्ष जेठ १३ गते ३१औँ पटक सगरमाथा आरोहण गरेका थिए ।कामिरिताले विसं २०८१ को एकै सिजनमा २९ र ३०औँ पटक सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमान बनाएका थिए । त्यसअघि विसं २०७९ को वसन्त ऋतुमा पनि उनले दुई पटक सगरमाथा आरोहण गर्न सफल भएका थिए ।सन् २०२३ मे १७ मा उनले २७औँ पटक सगरमाथाको सफल आरोहण गरेका थिए भने केही दिनमै पुनः दोस्रोपटक चुचुरोमा पुग्दै अर्को उपलब्धि हासिल गरेका थिए । सन् २०२२ मा डोरी टाँग्ने अभियानका क्रममा उनले २६औँ पटक सगरमाथा आरोहण पूरा गरेका थिए ।सगरमाथामात्र होइन, उनले आठ पटक चोयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से र एक पटक केटु आरोहण गरिसकेका छन् । यससँगै उनले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालहरूमा ४० पटक सफल आरोहणको कीर्तिमान कायम गरेका छन् ।सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेका कामिरिता शेर्पा आज विश्व पर्वतारोहण क्षेत्रकै प्रेरणादायी व्यक्तित्वका रूपमा परिचित छन् । उनको यो उपलब्धिले नेपालको पर्वतारोहण इतिहासलाई थप गौरवान्वित बनाएको छ ।



























