ओमप्रकाश खरेलमानव सभ्यताको इतिहासमा दास प्रथा एक घिनलाग्दो प्रथा थियो । यो अमानवीय अभ्यास प्रागऐतिहासिक युगबाट नै शुरु भएको थियो । त्यस बेला भएका युद्धहरुमा विजेता पक्षका सैनिकहरुले पराजितलाई आफ्नो घरमा, खेतमा र अन्य विभिन्न स्थानहरुमा काम गर्न दास बनाएर लैजान्थे । उक्त विजेता मालिकलाई दासको जीवन र मृत्युको निर्णयको अधिकार हुन्थ्यो तर मानव हृदयमा उठेको स्वतन्त्रताको किरणलाई भने कहिल्यै पनि समाप्त गर्न सकिदैन थियो । रोमन साम्राज्यका दासहरुमा त्यस्तै नै भएको थियो । तिनीहरुले आफू उपर गरिएको अमानवीय र पाशविक कृत्यका विरुद्धमा विद्रोह गरे । दुई पटकसम्म रोमन साम्राज्य तिनीहरुको विद्रोहलाई दबाउन सफल भयो । तर तेस्रो पटकचाहिं एक थ्रेसियन दास स्पार्टाकसको नेतृत्वमा तिनीहरुले स्वतन्त्रताको मार्गमा आफूलाई अघि बढाए । यही विद्रोहलाई नै मानव बन्धक विरुद्धको पहिलो क्रान्तिको रुपमा लिइन्छ । रोमन साम्राज्यको शक्तिशाली सेनालाई पराजित गरेर स्पार्टाकस आफ्ना हजारौं दास साथीहरुलाई स्वतन्त्रता दिलाउन सफल भएका थिए । अत्यधिक संख्या र हातहतियारले सुसज्जित र संगठित रोमन सैनिकहरुलाई पराजित गर्न स्पार्टाकसले अल्पाइन भञ्ज्याङको मार्ग छनोट गरेका थिए । उक्त विद्रोहमा पक्राउ परेका दासहरुलाई रोमन सैनिकहरुले रोमबाट कपुआ जाने बाटोको दुवैतिरका रुखमा झुण्ड्याएर मृत्युदण्ड दिएका थिए । यसरी ६ हजारभन्दा बढी दासहरुलाई फाँसी दिइएको थियो । उक्त फाँसी दिनु पहिले तड्पाइ तड्पाइ यातना दिइएको थियो । दासजस्तो क्रूर, अमानवीय, पाशविक र घिनलाग्दो प्रथालाई जरैदेखि उखेलेर फ्याँक्न नसके पनि स्पार्टाकस र उनका बहादुर दास साथीहरुले मानव स्वतन्त्रताको लागि विद्रोहको इतिहास रचेर आफूलाई अमर तुल्याए । यो क्रान्ति मानव जातिको स्वतन्त्रताको लागि विश्व इतिहासमा महान् पाठ बनेर बाँचिरहेको छ ।दास प्रथा मानवजातिको उत्पत्ति जत्तिकै प्राचीन छ । यो घृणित प्रथाले मानव समाजमा तब आफ्नो जरा गाड्यो जब एउटा जातिले अर्को जातिमाथि आफ्नो प्रभाव र नियन्त्रण कायम गर्न दबाउने प्रक्रिया शुरु ग¥यो । त्यस बेलाको चलन नै यस्तो थियो कि पराजितहरुलाई दास बनाएर विजेताहरुले श्रम गराउन लैजाने गर्दथे । तत्कालीन विशाल रोमन साम्राज्यको समृद्धिको मेरुदण्ड नै त्यहाँ रहेका ठूलो संख्याका दासहरु थिए जसले अथक र अनन्त श्रम रोमन भूमिमा पोखेर त्यसलाई उन्नतिको शिखर चुमाएका थिए । पशुजस्तै किनबेच गरिने तिनीहरुलाई पशुभन्दा गतिलो कुनै व्यवहार गरिदैनथियो । तिनीहरुले आफ्ना मालिकले आदेश दिएका हरेक कुराहरु पालना गर्नुपर्दथ्यो । खासगरी युरोपियनहरुले अफ्रिकन जातिहरुलाई दास बनाएको पाइन्छ । पछि गएर अमेरिका पत्ता लागेपछि युरोपका गोरा जातिहरुले अफ्रिकाका काला जातिहरुलाई त्यहाँको निर्माण कार्यमा लगाउन दास बनाएर अमेरिका पु¥याएका थिए । त्यस बेला दासहरु कहिल्यै पनि सुखी जीवनको सपना देख्दैनथे, बरु मृत्युमा उनीहरु मुक्तिको आशा राख्दथे ।
तर पहिले भनिएझैं मानिसहरुलाई दास बनाएर जति नै दबाउन र दुःख दिन चाहे पनि मानव हृदयमा प्रज्ज्वलित भएको स्वतन्त्रताको ज्वालालाई भने निभाउन कसैले सक्दैनथ्यो । त्यसैले कुनै कुनै बेला यी दासहरुले आफ्नो भाग्यको निर्माता हुन र स्वतन्त्रता पाउनको लागि सानातिना विद्रोहका प्रयासहरु भने जारी राखेका थिए । रोमन साम्राज्यको उत्थान र पतनको बेला यस्ता केही घटनाहरु भएका थिए । तत्कालीन रोमका दासहरुले अलि ठूलो खालका विद्रोहहरु तीन पटक गरेका थिए । रोमन साम्राज्यका ती दासहरु विरुद्ध अति धेरै शोषण, अन्याय र अमानवीय क्रियाकलाप गरिन्थ्यो । ती तीनवटा विद्रोहहरु मध्ये पहिलो दुई वटालाई तत्कालीन शक्तिशाली रोमन साम्राज्य सजिलैसँग दबाउन सफल भएको थियो । तर तेस्रो विद्रोह जुन जीसस क्राइस्ट जन्मनुभन्दा त्रिहत्तर वर्ष पहिला भएको थियो, चाहिं दास क्रान्तिको इतिहासमा महङ्खवपूर्ण र एक गौरवमय ज्योति साबित भएको थियो । उक्त विद्रोहको नेतृत्व एक थे्रसियन लडाकू दास स्पार्टाकसले गरेका थिए । उनको प्रभावशाली नेतृत्वमा ठूलो संख्यामा दासहरु विद्रोहमा उत्रिएका थिए । त्यो महान् विद्रोह त्यस बेलाको सबैभन्दा शक्तिशाली सैन्य क्षमता भएको रोमन सैनिक विरुद्ध चार वर्षसम्म प्रभावशाली रुपमा चलेको थियो । केही समयको लागि भए पनि उक्त क्रान्तिले रोमन साम्राज्यको जगलाई गम्भीर तवरले हल्लाउन सफल भएको थियो ।
यो दास विद्रोहको बारेमा जान्नुभन्दा पहिले तत्कालीन रोमन साम्राज्यको चरित्रको बारेमा बुझ्नु आवश्यक हुन्छ । जीससको जन्मभन्दा पाँच शताब्दी पहिले रोमका अन्तिम सम्राट टार्किन द प्राउडलाई उनको बेइमानीको कारण पदमुक्त गरिएको थियो । ती सम्राट आफ्नो अनैतिक र भ्रष्ट चरित्रको कारण जनताहरुको लागि असह्य बनेका थिए । त्यसपछि रोमन जनताहरुले राजसंस्था राज्यको लागि घातक भएकोले त्यो संस्था हटाएर गणतन्त्र स्थापना गर्ने निर्णय गरे । सम्राटलाई राज्यबाट हटाएर गणतन्त्र स्थापना गर्नको लागि प्रमुख भूमिका खेलेका रोमन राजनीतिका प्रमुखहरुले राज्य चलाउनका लागि सिनेटको स्थापना गरे । उक्त सिनेटका दुई सदस्यहरुलाई राज्य सल्लाहकारको रुपमा नियुक्त गर्ने निर्णय भयो । यी दुई राज्य सल्लाहकारहरुले सिनेटको आदेशअनुरुप शासन गर्नुपर्दथ्यो र हरेक वर्ष यस्ता सल्लाहकारहरु परिवर्तन हुन्थे, किनकि पुनः रोममा राजतन्त्रको बीज नरोपियोस् । यसकारण रोमका जनताहरु स्पष्टरुपमा दुई समूहमा बाँडिए । पहिलो वर्गकाहरु कुलीन थिए, जो राज्य संचालन गर्ने अधिकार प्राप्त थिए । तिनीहरुलाई पेट्रिसियन भनिन्थ्यो । दोस्रो वर्गकाहरु संख्यामा बढी थिए र तिनीहरुलाई प्लेबियन भनिन्थ्यो र यिनीहरु तुलनात्मक रुपमा आर्थिक अवस्थामा पहिलो वर्गभन्दा कमजोर थिए । यिनै रोमन नागरिकहरुले आफ्ना प्रतिनिधिहरुको छनोट गर्दथे ।
रोमन साम्राज्यमा यी दुई समूह बाहेक अर्को समूह पनि थियो र त्यो समूहलाई दास भनिन्थ्यो । यो तेस्रो समूह रोमन गणतन्त्रको समृद्धि, प्रभाव र विकाशमा मेरुदण्ड साबित भए पनि तिनीहरुलाई राज्यले कुनै पनि अधिकार दिएको थिएन । यसरी रोमन गणतन्त्रले दास र मालिकको अप्राकृतिक समीकरणमा आधारित घृणित समाजलाई विकसित गरिरहेको थियो, जहाँ दासहरुलाई कुनै पनि अधिकार दिइएको थिएन भने मालिकहरुलाई सबैथोक, यहाँसम्म कि दासहरुको जीवन र मृत्युको निर्णय लिने अधिकार पनि थियो । रोमन साम्राज्य प्युनिक वारपछि झनै शक्तिशाली र समृद्ध बन्दै गयो । ११३ बी. सी. मा दुई दाजुभाइ टाइबेरियस र गसले रोमन समाज र राजनीति सुधार गर्ने प्रयास गरे । तिनीहरुको विचार धनी मानिसहरुले धेरै जमिन राख्न पाउनु हुँदैन भन्ने थियो । आफ्नो विचारलाई समर्थन गर्न उनीहरुले पुराना पुराना नियमहरुलाई देखाए । समाज र राजनीति सुधार सम्बन्धी ती दाजुभाइको विचारलाई कुलीन वर्गले रुचाएनन् र आफ्नो मनोमानीमा केही बाधा उत्पन्न होला भन्ने ठानेर तिनीहरुको हत्या गर्ने षड्यन्त्र गरे । नभन्दै षड्यन्त्रपूर्वक तिनीहरुको हत्या गरियो । ती दुई दाजुभाइको हत्याले रोमन साम्राज्यको जग नै हल्लाउने गरी राज्यलाई गृहयुद्धतर्फ डोहो¥यायो ।रोमन साम्राज्यको यही खराब र अस्पष्ट अवस्थामा त्यहाँका दासहरुले तीन पटकसम्म विद्रोह गरेका थिए । यथार्थमा यी विद्रोहहरु रोमन साम्राज्यको आन्तरिक कलह र विभेदको सूचक थिए ।
त्यतिबेला रोमन समाज सबैभन्दा खराब अवस्थामा पुगेको थियो । मानसिक र नैतिक पतनको स्थितिमा थियो । औसत रोमनहरु अल्छी, प्रयोगहीन, कमजोर र कामुक भएका थिए । तर रोमन साम्राज्यको वृद्धिपछि धनी र कुलीनहरु झनै सम्पत्तिवान भएका थिए । तिनीहरु आफ्नो शक्तिप्रति गर्व गर्दथे र अब आफ्नो अधिकांश समय मोजमस्तीमा व्यतित गर्न थालेका थिए । यी मोजमस्ती खोज्ने र कामुक विचार भएका मानिसहरु अब अप्राकृतिक मैथुन र पशुमैथुनमा लीन हुन थालेका थिए । ‘खाऊ, पिऊ र सम्भोग गर’ भन्ने विचार नै उनीहरुको जीवनशैली बनेको थियो । त्यसपछि अरुलाई तड्पाएर आनन्द लिने तिनीहरुको चरित्र बनेको थियो । विभिन्न सेक्स क्लबहरु र सामूहिक सम्भोग गर्ने स्थानहरु खोलिएका थिए । दास र गरिबका स्त्रीहरुलाई तड्पाएर सेक्स गर्नु, गराउनु, त्यसमा सहभागी हुनु र दृश्यावलोकन गर्नु उनीहरुको लागि आनन्दको स्थान थियो । तिनीहरु दासका दुई ग्लाडिएटर (योद्धा) हरुलाई एकअर्कामा भिडाएर त्यो दृश्य हेर्नमा अत्यधिक सुखानुभूति गर्दथे । त्यो भिडन्तमा ती ग्लाडिएटरहरुको रगतले निथ्रुक्क भिजेको शरीरले ती कुलीन वर्गका दर्शकहरुलाई अप्राकृतिक आनन्द प्रदान गर्दथ्यो । हजारौं रोमनहरु थिएटरमा भेला भएर यस्तो भिडन्त अवलोकन गर्दथे । उनीहरु आफ्नो पक्षको दासले अर्कोलाई हिर्काएको र पराजित गरेको क्षणमा खुशीले चिच्याउने गर्दथे । छोटकरीमा भन्नुपर्दा रोमन साम्राज्य शोषण र असमानताको चरमचुलीमा पुगेको थियो र त्यसलाई समाप्त पार्नको लागि स्पार्टाकसले विद्रोहको मुक्का रोमन साम्राज्यमाथि प्रहार गरे । दुईवटा विद्रोहहरु पहिले नै भइसकेका थिए । एउटालाई सजिलै दबाइएको थियो । दोस्रो विद्रोह दबाउनको लागि प्रख्यात जनरल जस्तै पम्पियस म्याग्नसलाई हतियार र ठूलो संख्याको सैनिक दिएर पठाइएको थियो । यसै परिप्रेक्ष्यमा अनैतिकता, भोगविलास, अरुलाई तड्पाएर लिने आनन्द, नैतिक पतन र शोषण बढ्न थालेपछि तेस्रो दास क्रान्तिको बीउ रोपिएको थियो । यसरी कुलीन वर्गप्रति दासहरुको मनमा बढेको रिस, घृणा र आक्रोश क्रान्तिको रुपमा विस्फोट भयो ।
ती रोमनहरु नै थिए, जसले दासहरुलाई युद्ध गर्न सिकाएका थिए । अघि भनिएझैं त्यस बेलाका रोमनहरुको सबैभन्दा प्रख्यात मनोरञ्जन भनेकै दुई दास ग्लाडिएटरहरुलाई भिडाएर हेरिने दृश्य थियो । खासगरी छानिएका बलिया दासहरुलाई पर्याप्त खाना, शारीरिक व्यायाम र तालिम दिने गरिन्थ्यो । तिनीहरुलाई त्यसबाहेक अरु काम गर्न पनि लगाइँदैनथ्यो । त्यतिमात्र होइन तिनीहरुको शारीरिक क्षुधापूर्तिको लागि र खुशी एवं सन्तुष्ट बनाइराख्नको लागि समय–समयमा आइमाईहरु पनि उपलब्ध गरिन्थ्यो । ती ग्लाडिएटरहरुलाई तालिम दिने व्यक्तिलाई लानिस्टा भनिन्थ्यो । रोममा यस्ता धेरै थिएटरहरु थिए, जहाँ धनी मानिसहरु आफूले चाहेका दास ग्लाडिएटरहरुको भिडन्त हेर्न धेरै पैसा तिरेर भेला हुने गर्दथे । रगतका ती तिर्खालु व्यक्ति र वर्गहरुलाई दास ग्लाडिएटरहरुको यस्तो भिडन्त हेराएर लानिस्टाहरुले पर्याप्त धन आर्जन गरेका थिए । थ्रेसका दासहरु छोटो घुमाउरो चक्कुको प्रयोग गर्नमा पोख्त मानिन्थे भने अफ्रिकन दासहरुचाहिं जाली र भालाको प्रयोग गरेर गरिने भिडन्तमा पोख्त थिए । अफ्रिकन र थ्रेसियन दास ग्लाडिएटरहरुबीच हुने यस्तो द्वैध युद्ध हेर्न हरेक रोमनहरु उत्सुक हुने गर्थे । थ्रेसियनले चक्कु र अफ्रिकनले जाली र भाला प्रयोग गरेर गरिने यस्तो युद्धले आङ्ग सिरिङ्ग पाथ्र्यो अनि दर्शकहरु त्रसित भएर चिच्याउँदै उठ्ने गर्दथे । त्यसबेला कपुआ भन्ने नगरमा ढुंगाबाट एक शानदार रङ्गशाला बनाइएको थियो । यही रङ्गशालाको नजिकै त्यसबेलाको एक प्रख्यात लानिस्टा ल्यान्टुलस बाटियाटसले दास योद्धाहरुलाई तालिम दिनको लागि एउटा स्कुल स्थापना गरेका थिए । त्यस समयको त्यसरी तालिम दिने यो नै सबैभन्दा ठूलो स्कुल थियो ।लानिस्टा बाटियाटस तन्केको छाला भएको भद्दा मोटे मानिस थिए तर उनका चतुर आँखाहरु सजिलै ग्लाडिएटरको तालिम लिने दासहरुलाई छान्न सक्दथे । उनी टाढा–टाढाबाट त्यस्ता दासहरुलाई किन्ने गर्दथे । बाटियाटसको किशोर अवस्थाको जीवन भिखारी जीवन थियो । उनी रोमका सडकहरुमा भिख माग्दथे । तर पछि यो लानिस्टाको व्यवसायबाट उनले यति धेरै पैसा कमाए कि उनी रोमका चार सबैभन्दा ठूलो भवनको मालिक बने । उनी बलवान दासहरुलाई खानी क्षेत्रतिर खोज्न जान्थे । खानीका निरीक्षकहरुलाई घुस ख्वाएर पनि उनी बलवान, तगडा र विद्रोही प्रकृतिका दासहरु पत्ता लगाउँथे । खानीले खासगरी तागतिला र बलिया दास पुरुषहरु किनेर राख्दथ्यो र बाटियाटस ती मध्येको पनि बलवानलाई किनेर लैजान्थे । बाटियाटसको अनुसार खानीमा एकदमै कडा परिश्रम गरेर पनि नथाक्ने दास द्वैध युद्धको ग्लाडिएटरमा उपयुक्त हुन्थ्यो । उनी त्यस्तै दासलाई किन्दथे । त्यसरी किनेर ल्याइएका दासहरुलाई उनले भिडन्तको कडा तालिम दिन्थे र उसलाई द्वैध भिडन्तको लागि तयार गर्दथे । ती दास योद्धाहरु केही क्षणको लागि थिएटरको मञ्चमा स्वतन्त्र महसुस गर्दथे र आफ्नो सम्पूर्ण शक्तिका साथ भिडन्तको लागि तयार हुन्थे । वास्तवमा यस्तो भिडन्त जीवन र मृत्युको भिडन्त हुनेगथ्र्यो र उक्त भिडन्त हेर्नको लागि आएका दर्शकहरु पराजित योद्धाले विजेताबाट मृत्यु पाउने भएकोले ज्यान फालेर लड्न उक्साउने गर्दथे । ती दास योद्धाहरुले त्यसरी ज्यानको बाजी थापेर भिडन्त गरे पनि यथार्थमा उनीहरु त्यो खून र हत्याको खेललाई घृणा गर्दथे । यसरी तेस्रो दास विद्रोहको ज्वाला त्यस्तो खेलप्रति दासहरुको घृणा र खेलाउनेप्रतिको आक्रोशको अनुभूतिको कारणले दन्किन थालेको थियो ।
बाटियाटसले स्पार्टाकस दासलाई इजिप्टको सुनखानीबाट किनेका थिए । स्पार्टाकस नम्र, भद्र र नेतृत्व गर्ने गुण भएका व्यक्ति थिए । उनका औसत मानिसझैं गहिरो काला आँखाहरु र घुम्रिएको कपाल थियो । उनी धेरै थ्रेसियन दासहरुभन्दा कान्छा थिए । ती सबै दासहरु उनलाई माया र सम्मान पनि गर्दथे । स्पार्टाकस कम बोल्ने स्वभावका थिए र उनले भनेका कुराहरु दासहरु माझ सजिलै स्वीकार हुन्थ्यो ।
बाटियाटसको कपुआमा रहेको तालिम स्कुलमा झण्डै दुई सय योद्धाहरु थिए । त्यहाँ प्रायजसो थ्रेसियन, अफ्रिकन र यहूदी दासहरु थिए । अधिकांश यी दासहरु बलिया, शक्तिशाली र योग्य ग्लाडिएटर थिए, तर तिनीहरुको मनमा आफने मालिकप्रति भने घृणा सिवाय केही पनि थिएन । बाटियाटसले भरिनिया नामकी एक जर्मन स्त्री स्पार्टाकसको मनोरञ्जनको लागि प्रदान गरेका थिए । ती स्त्रीले स्पार्टाकसलाई आफ्नो श्रीमान् स्वीकार गरेर जीवनभर उनको क्रान्तिलाई साथ दिएकी थिइन् ।
एकदिन दुई रोमन युवाहरु दुई दास योद्धाहरुको भिडन्त हेर्न कपुआ आए । बाटियाटसले ती दुई युवाहरुबाट २५,००० दिनार लिएर पराजित योद्धालाई मृत्युसम्म पु¥याउने भिडन्त देखाउन तयारी गरे । यी दुई रोमन युवाहरुको नाम ब्रकस र क्यामस थियो । यिनीहरुले चारजना दासहरुको छनोट गरे । पहिलो थिए, स्पार्टाकस, दोस्रो, ड्रबा नामको निग्रो, तेस्रो डेभिड नाम भएका यहूदी र चौथो कुनै अर्कै सम्प्रदायको युवक । पहिलो भिडन्त डेभिड र चौथो दास बीच भएको थियो । डेभिडले उक्त चौथो दासलाई पराजित ग¥यो तर विजयपछि उसले उक्त पराजितलाई मार्न अस्वीकार ग¥यो । यो तेस्रो दास विद्रोहको शुरुवातको झिल्कोमात्र थियो । त्यसपछि भिडन्त स्पार्टाकस र ड्रबाबीच हुनेवाला थियो । तर रेफ्रीले भिडन्त शुरु भएको सिटी फुक्नुभन्दा ठीक पहिला ड्रबाले त्यो एक रोमन युवामाथि अचानक भाला प्रहार गरे । तत्कालै सिपाहीहरु आएर ड्रबालाई भालाले घोचेर मारिदिए । ड्रबाको हत्याले दास क्रान्तिको जग बसायो । त्यसपछि बाटियाटसले दासहरुमा त्रासमय वातावरण सिर्जना गर्न सबै दासहरु एक ठाउँमा भेला हुनेबित्तिकै बिनाकुनै दोष एक निग्रो दासलाई एक्कासि भालाले घोचेर मारे । तर बाटियाटसको यस्तो कार्यले क्रान्ति रोकिनुको साटो झनै चर्कियो । स्पार्टाकसले यो विद्रोहको नेतृत्व गरे भने क्रिक्कुस र गानिकस नामका दुई दासहरुले उनलाई सहयोग गरे ।
ड्रबाको र अन्य मारिएका निर्दोष दासहरुको शवलाई मृत्युपछि पनि क्रशमा टाँगियो ताकि अरुहरुले कुनै विद्रोह गर्ने आँट गर्न नसकून् । स्पार्टाकसलाई दासहरुको त्यस्तो नियतिले चिन्तितमात्र तुल्याएन बरु आक्रोशको ज्वाला दन्कायो । उनले यी घटनाहरुबाट दासहरुको कठोर नियतिको भयानक पाठ सिके । त्यस उप्रान्त स्पार्टाकसले थिएटरमा कुनै पनि दाससँग भिडन्त नगर्ने निर्णय गरे । यी निर्दोष दासहरुको ज्यान किन त्यति सस्तोमा फाल्ने भनेर स्पार्टाकसले आफ्नो निर्णय अरु दासहरुलाई सुनाए । स्पार्टाकसको त्यस्तो निर्णय सुन्नेबित्तिकै बिनाकुनै प्रश्न र हिचकिचाहट ती सबै दासहरुले उनलाई साथ दिने निर्णय गरे । बिहानीको व्यायामपछि सबै दासहरु भान्सा कोठामा भेला भए । स्पार्टाकसले त्यहाँ छोटो भाषण दिए । त्यसपछि पहिलो कामको रुपमा तिनीहरुले आफ्ना प्रशिक्षकलाई मारे र त्यहाँको वातावरण निरीक्षण गरे । यो कामको लागि तिनीहरुलाई धेरै समय लागेन ।
स्पार्टाकस र उनका परिवार तीन पुस्तादेखि दास हुँदै आएका थिए । तर यो नै पहिलोपटक थियो कि स्पार्टाकस र अरु दासहरुले स्वतन्त्रताको सास फेर्न पाएका थिए । त्यसपछि भिडन्तका लागि त्यहाँ राखिएका ती योद्धा दासहरुले स्पार्टाकसको नेतृत्वमा उक्त थिएटरमा दरबन्दी पाएका चालीस जना सिपाहीहरुको हत्या गरे । आक्रोशित दासहरुको त्यस्तो हिंसात्मक आक्रमण सहन नसकेर त्यो थिएटरका केही सिपाहीहरु भाग्न थाले ।
स्पार्टाकसको नेतृत्वमा युद्धमा सामेल ती दासहरुले बाटियाटसको हतियार भण्डारमा रहेका हातहतियार लुटपाट गर्न थाले र अब संगठित रुपमा युद्ध गर्ने तयारी पनि गरे । सर्वप्रथम तिनीहरुले कपुआबाट आउँदै गरेको सिपाहीको प्लाटुनमाथि हमला गरे । तिनीहरुले माउन्ट भेसुभियासमाथि नियन्त्रण गरे । दासहरुको यस्तो विद्रोहको खबर रोमको सिनेटले सहन सकेन र बारिनियसको नेतृत्वमा ३००० सैनिकहरु ती दासहरुको विद्रोह दबाउन पठाइयो । त्यस बखत ती सैनिकहरुले अन्य निर्दोष दासहरुमाथि अनेकौं प्रकारका दुव्र्यवहार गरेर त्रासको वातावरण सिर्जना गरे । यसप्रकारको मनोमानी व्यवहार गर्न पाएर ती सैनिक खुशी देखिन्थे । त्यसपछि उनीहरु आफ्नो रात्री क्याम्पमा गए । त्यही रात विद्रोही दासहरुले सैनिकको रात्री क्याम्पमा हमला गरे । त्यो हमलामा हरेक रोमन सैनिकहरुलाई खोजी गर्दै दासहरुले मृत्युको मुखमा पुु¥याए । त्यसपछि स्पार्टाकसले सैनिकहरुबाट गिरफ्तार गरिएको रोमन शक्तिको प्रतिक पोर्थस नामको सैनिकलाई पठाउँदै भने,
“जा र तेरो सिनेटलाई भन, हामी अब तिमीहरुका कोर्राले बिरामी भएका छौं । त्यसैले आज उप्रान्त हामी दास भएर बाँच्न चाहन्नौं ।”
स्पार्टाकसका सैनिकहरु अघि बढ्न थाले । बाटोमा दासहरुको कैयौं विशाल भीड स्पार्टाकसको सैनिकलाई समर्थन गर्दै मिल्न आए । बिस्तारै स्पार्टाकसको सैन्यमा १,००,००० दासहरु सूचिकृत भए ।
पुबिलिएसको नेतृत्वमा रोमन सिनेटले अर्को विशाल संख्याको सैन्य विद्रोहीहरुलाई समाप्त गर्न पठायो । स्पार्टाकसले उक्त रोमन सैनिक विरुद्ध छापामार युद्धनीति अपनाए । उनले ‘हान र अल्पाइन भञ्ज्याङमा भाग’ को नीति अपनाएर युद्ध जिते । उनको चौथो जीत रोमनका एकदमै अनुभवी जनरल ममियसका विरुद्धमा थियो । त्यसपछि बाध्य भएर रोमन सैनिक पछि हट्यो । स्पार्टाकसको नेतृत्वको दास सैन्यसँग पराजित भएर पछि हट्नु परेको कुरा रोमन सैनिकको लागि लाजको विषय थियो । जब भगुवा रोमन सैनिकहरु रोम पुगे तब हरेक दश जना मध्ये एकलाई डर छेरुवाको आरोपमा मृत्युदण्ड दिइयो । पछि स्पार्टाकसले दुई चर्चित रोमन जनरलहरु ममियस र सर्भियसलाई गिरफ्तार गरे र तिनीहरुलाई दुई दास ग्लाडिएटर योद्धाहरुलाई थिएटरमा भिडाएझैं भिडाए । यसरी ती आक्रोशित विद्रोही दासहरुले आफूलाई वर्षौंदेखि गरिंदै आएको कुरा रोमन जनरलहरुलाई गराएर बदला लिए । अब ती दासहरुले कसरी युद्ध गर्ने भन्ने कुरा पनि पत्ता लगाए । आफ्नो पूर्व योजना मुताबिक कसरी रोमन सैनिकहरुलाई पराजित गर्न सकिन्छ भन्ने विचार गरेर स्थान तयार गरे । रोमनहरु बढी आत्मविश्वासको कारण युद्धको लागि अघि बढेकोले ठूलो क्षति पाए । परिणामस्वरुप तिनीहरुले युद्ध हारे । त्यो युद्धमा दश हजार दासहरुले पनि सहादत प्राप्त गरे । तिनीहरु आफ्नो अधिकार पाउन उत्साहित मानिसझैं आक्रमणमा सरीक भएकोले क्षति व्यहोर्न बाध्य भए । रोमन सैनिकहरु स्वयं पनि विद्रोही दासहरुको बहादुरिता देखेर चकित परेका थिए ।अन्त्यमा अति नै ठूलो संख्यामा रोमन कमान्डर लिसिनियस क्रेससको नेतृत्व रोमन सैनिक विद्रोही दासहरुलाई दबाउन लागि प¥यो । दासहरु पराजित भए । स्पार्टाकसले बहादुरिताका साथ लड्दा–लड्दै सहादत प्राप्त गरे । ६,८७२ दासहरु पक्राउ परे र तिनीहरुलाई कपुआ जाने बाटोमा लस्करै क्रशमा टाँगियो र मृत्युदण्ड दिइयो । इतिहासकारहरुका अनुसार स्पार्टाकसकी श्रीमती भरिनिया आफ्नो छोरोसहित भाग्न सफल भएकी थिइन् । स्पार्टाकसको पराजय विद्रोहको अन्त्य थिएन । त्यसपछि पनि धेरै पटक दासहरुले विद्रोह गरेका थिए ।
स्वतन्त्रताको लागि आफ्नो ज्यान अर्पण गर्ने पहिलो शहीदको रुपमा इतिहासले स्पार्टाकसको स्थान सुरक्षित गरेको छ । हावर्ड फास्टले स्पार्टाकसको जीवनीमा आधारित भएर कलम चलाएका छन् र यसै विषयमा किर्क डगलसले चलचित्र पनि बनाइसकेका छन् । दासका पछिल्लो पुस्ताहरुले क्रूरता र दमनको विरुद्धमा संघर्ष गर्ने स्पार्टाकसलाई अत्यन्त सम्मान पनि प्रकट गरेका छन् । स्पार्टाकसले स्वतन्त्रता र आफ्नो अधिकारको लागि लड्न प्रेरित गरेका छन् ।