
काठमाडौं ।संकटा क्लब एन्फा यू–१६ युथ लिगमा प्लानिङ ब्वाइज युनाइटेडविरुद्धको खेलमा ३–१ ले विजयी भएको छ ।बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा संकटालाई जित दिलाउन प्रज्वलकुमार लुम्रे र समित बलाम्पकीले समान एक गोल गरे ।संकटाले एक आत्मघाती गोल भने उपहार पाएको थियो । जवाफमा प्लानिङका ओम खड्काले टोलीको निम्ति एक गोल फर्काए ।खेलको ११औँ मिनेटमा प्लानिङका जियान कुवँरबाट आत्मघाती गोल भएपछि संकटाले १–० को अग्रता कायम गर्यो ।खेलको २१औँ मिनेटमा प्लानिङका ओमले गोल गरेपछि टोली खेलमा फर्कियो ।३५औँ मिनेटमा संकटाका प्रज्वलले गोल गर्दै टोलीलाई २–१ को अग्रतामा राखे ।६२औँ मिनेटमा टोलीका सुमतीले गोल गर्दै संकटालाई ३–१ को अवस्थामा पुर्याए । यो जितसँगै संकटाले लिगमा ३७ अंक जोडेको छ । संकटाले १८ खेल खेल्दा ११ जित, चार बराबरी र तीन हारसहित यो नतिजा आत्मसाथ गरेको हो ।




























