
काठमाडौँ । विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ मा यो दिवस विश्वभर मनाउने गरिन्छ।यस वर्षको विश्व वातावरण दिवसको मुख्य विषयवस्तु ‘जलवायु कार्य (Climate Action)’ रहेको छ। यस विषयवस्तुले जलवायुसँग मानवको सम्बन्ध सुधार गर्ने, प्रकृतिमा आधारित समाधानलाई प्रवर्द्धन गर्ने तथा विश्व अर्थतन्त्रलाई सञ्चालन गर्ने प्रणालीहरूको पुनर्विचार गर्न प्रेरित गर्ने उद्देश्य राखेको छ।वातावरण संरक्षण, व्यवस्थापन र प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसंघले सन् १९७२ मा विश्व वातावरण दिवसको स्थापना गरेको थियो। प्राकृतिक स्रोतसाधन र वातावरण संरक्षणप्रति विश्वभरका नागरिकमा चेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ यो दिवस मनाइँदै आएको छ।नेपालमा पछिल्लो समय वातावरणीय चुनौतीहरू बढ्दै गएका छन्। तीव्र सहरीकरण, फोहोरमैला व्यवस्थापनको समस्या, प्राकृतिक स्रोतसाधनको अत्यधिक दोहन, जनसंख्या वृद्धि तथा विभिन्न मानवीय गतिविधिका कारण वातावरण प्रदूषण र विनाशको जोखिम बढ्दो छ।विज्ञहरूका अनुसार वातावरणीय क्षयीकरणका कारण जलवायु परिवर्तनका असरहरू झन् स्पष्ट रूपमा देखिन थालेका छन्। अनियमित वर्षा, बाढी, पहिरो, खडेरी, तापक्रम वृद्धि तथा जैविक विविधतामा आएको ह्रास यसको प्रमुख उदाहरण हुन्।जलवायु परिवर्तनले मानव जीवनसँगै कृषि, खाद्य सुरक्षा, जलस्रोत, वनजंगल तथा भौतिक पूर्वाधार क्षेत्रमा समेत प्रत्यक्ष प्रभाव पारिरहेको छ। विकास र वातावरण संरक्षणबीच सन्तुलन कायम गर्न सके मात्र स्वच्छ, सुरक्षित र दिगो वातावरण निर्माण सम्भव हुने विज्ञहरूको भनाइ छ।विश्व वातावरण दिवसले वातावरण संरक्षणप्रति सबै नागरिक, समुदाय र सरोकारवाला निकायलाई जिम्मेवार बन्न तथा पृथ्वीको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।


























