
घोराहीमा उम्मेदवारी घोषणा तथा आमसभालाई सम्बोधन गर्दै उहाँले देशमा अव्यवस्थितरुपमा चलेको कुशासनको अन्त्य गर्दै सुशासनतर्फ लैजानुपर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका खरेलले देशमा भ्रष्टाचारले बेरोजगारी समस्या सिर्जना गरेकोतर्फ संकेत गर्दै उहाँले अहिलेका नाम चलेका पार्टीहरुसँग राष्ट्र र राष्ट्रियताप्रति गौरव गर्ने कुनै भावना नभएको बताउनुभएको थियो । देशमा सुशासन ल्याउन सबै एकताबद्ध भई अगाडि बढ्न उहाँले आग्रह गर्नुभयो । ‘देशलाई आत्मनिर्भर बनाउने जिम्मा अब हाम्रै हातमा आएको छ’– उहाँले भन्नुभयो– ‘राजनीतिक भागबण्डा अन्त्य गर्दै असल र सक्षम व्यक्ति मंसिर ४ मा छान्नुपर्छ तब मात्र देशले निकास पाउँछ ।’ उहाँले कम्युनिष्ट वा कांग्रेस जुनसुकै पार्टी भए पनि राम्रो र सक्षम व्यक्तिहरुलाई चुन्नुपर्ने पनि बताउनुभयो ।
कार्यक्रममा उम्मेदवारी घोषणा पनि गरिएको थियो । दाङ क्षेत्र नं. २ बाट संघीय सांसदका लागि गीता रावतले उम्मेदवारी घोषणा गर्नुभएको छ । यस्तै दाङ क्षेत्र नं. २ (क) बाट बेगम पाण्डेले उम्मेदवारी घोषणा गर्नुभएको छ । दुबै जनाले स्वतन्त्र राजनीतिक शक्तिबाट उम्मेदवारी घोषणा गर्नुभएको हो । सो पार्टीको चुनाव चिन्ह बच्चा बोकेको आमा रहेको छ । आउने निर्वाचनमा त्यही बच्चा बोकेको आमा चिन्हमा भोट गरेर निर्वाचनमा जिताउन स्वतन्त्र राजनीतिक शक्तिले आग्रह गरेको छ ।

स्वतन्त्र राजनीतिक शक्ति पार्टी विभिन्न छ दल आवद्ध भएर बनेको पार्टी हो । नवगठिन स्वतन्त्र राजनीतिक शक्ति नेपालमा नेपाल सुशासन पार्टी, सचेत नेपाली पार्टी, नेपाल आमा पार्टी, उन्नत लोकतन्त्र पार्टी र नौलो जनवादी पार्टी आबद्ध भएका थिए ।




























