
शहीद स्मारक ए डिभिजन लिगका लागि विदेशी खेलाडीको कोटा बढाउन अखिल नेपाल फुटबल संघ (एन्फा) सहमत भएको छ ।नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका दर्जनौँ खेलाडी विदेश पलायन भएसँगै ए डिभिजन लिगका क्लबहरूले बजारमा खेलाडी अभाव देखाउँदै विदेशी खेलाडीको कोटा बढाउन गरेको मागलाई एन्फाले सम्बोधन गरेको हो । ए डिभिजनका अधिकांश क्लबले आफूहरूलाई खेलाडी अभाव रहेको भन्दै विदेशी खेलाडीको कोटा थप्न माग गर्दै एन्फामा यसअघि पत्र बुझाएका थिए ।खेलाडी थप गर्ने मागलगायत शहीद स्मारक ए डिभिजन लिग सञ्चालन सम्बन्धमा बुधबार बसेको बैठकले खेलाडी कोटा बढाउने निर्णय गरेको एन्फाका प्रवक्ता सुरेश साहले बताए । उनले अनुभवी खेलाडी पाउन मुस्किल भएको भन्दै क्लबहरूले कोटा थप्न माग गरेअनुसार अब क्लबले ५ जना विदेशी खेलाडी टिममा समावेश गर्न पाउने बताए । उनले टिममा एक जना एसियाली र एक जना दक्षिण एसियाका खेलाडी अनिवार्य गरिएको पनि बताए । उनले एक खेलमा ४ विदेशी खेलाडी खेल्न पाउने प्रावधान ल्याएको बताए ।राष्ट्रिय टिमका अधिकांश खेलाडी विदेश गएको र बजारमा समेत राम्रा खेलाडी पाउन नसकिएको भन्दै क्लबहरूले सामूहिक रुपमा विदेशी खेलाडीको कोटा बढाउन ए डिभिजनका ११ वटा क्लबले आफ्नो मागसहितको पत्र लिग निर्देशक सञ्जीव मिश्रलाई बुझाएका थिए । पछिल्लो समय राष्ट्रिय फुटबल टिमका अधिकांश खेलाडी अष्ट्रेलिया पुगेका छन् । तीन महिनामा डबल लिग सञ्चालन हुँदा खेलाडीको चोटको समस्या समेत बढ्ने क्लबको चिन्ता छ । सोही कारण विदेशी खेलाडीको कोटा थप गर्दा टिमको तयारी सहज हुने भन्दै क्लबहरूले विदेशी खेलाडीको कोटा बढाउन माग गरेका थिए ।शहीद स्मारक ए डिभिजन लिगमा यसअघि हरेक क्लबले ४ जना विदेशी खेलाडी राख्न पाउने प्रावधान थियो । विदेशी खेलाडीको कोटा थप भएसँगै सुरुवाती–११ मा ४ जना विदेशी खेलाडी राख्न पाइनेछ । एक जना विदेशी खेलाडी भने बेन्चमा रहनेछन् । नयाँ सिजनको ए डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । लिगका लागि पाँचौँ चरणसम्मको तालिका पनि सार्वजनिक भइसकेको छ । सार्वजनिक तालिका अनुसार उद्घाटन खेल खुमलटार युथ क्लव र फ्रेण्ड्स क्लबबीच हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।




























