
प्रधानमन्त्री र शीर्ष नेताबीच सदन सुचारु गर्नेबारे सकारात्मक छलफल भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भोलि बस्ने बैठकले टुङ्गो लाउने गरी संसद् खुलाउने बटम लाइनका साथ छलफल भएको जानकारी दिनुभयो ।बैठकपछि सत्तचारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “जे कुरामा छलफल गर्नु थियो, एकदम नजिकै पुग्यौँ । अब एउटा बैठकमा टुङ्ग्याउने गरी सम्भवतः भोलि बस्ने बैठकले टुङ्ग्याउने र बटमलाइन चाहिँ संसद् खुलाउने हिसाबले छलफल भयो ।”उहाँले बैठकमा प्रमुख प्रतिपक्षीले उच्चस्तरीय छानबिन आयोगको माग राखेको र यस सन्दर्भमा सरकारका तर्फबाट गृहमन्त्रीले १५ दिनको समय माग्नुभएको जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “अर्को समिति बन्नुपर्ने कुरा उठे । भइरहेको अनुसन्धान कुनै पनि ढङ्गले प्रभाव, दबाब नहोस् । गृहमन्त्रीले माग्नुभएको समयमा १५ दिन बाँकी रह्यो । छानबिन समिति बनाउँदा पनि फरक परेन ।” उहाँले भोलिको बैठकले यो विषय टुङ्गो लगाउने विश्वास व्यक्त गर्नुभयो ।नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले आजको छलफल सकारात्मक भएको बताउनुभयो ।गिरीले भन्नुभयो, “यदि उच्चस्तरीय छानबिन समिति बनाउने कुरामा यदि सकारात्मक बन्छ भने हामी लचिलो नहुने के छ ? आजको बसाइ सकारात्मक छ भोलिको वातावरण बिग्रिएन भने । कुन पार्टीको भन्ने सवाल भएन । जुनसुकै तस्करीको, अनियमितता गरेको छ भने कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने कुरामा एमाले स्थीर छ ।”एमालेले बैठकमा क्विन्टलका क्विन्टल सुन भित्रने कुरामा उच्चस्तरीय छानबिन समिति बन्नुपर्ने कुरा दृढताका साथ राखेको बताएको छ ।प्रधानमन्त्रीसँग भएको छलफलबारे उहाँले भन्नुभयो, “सीआईबीको अनुसन्धान प्रभावकारी हुन्छ, यो अनुसन्धान सकिएपछि गरौंला भन्नुभयो । हामीले १५ दिन किन? अहिले नै बैठकले निर्णय गर्न सकिन्छ । यो अडान यथावत् हो । माननीयज्यूले आफ्नो विचार राख्नुपर्छ । समिति बनाउने गरी सहमतिको सम्भावना देखिएको छ ।”




























