
साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक ५ दशमलव ०५ अंक अर्थात् शून्य दशमलव २५ प्रतिशत घटेको छ । यससँगै नेप्से परिसूचक १ हजार ९९३ दशमलव ४२ विन्दुमा कायम भएको छ ।यस दिन २७८ धितोपत्रको ४० लाख ६ हजार ७३९ कित्ता शेयर २९ हजार ६४० पटकमा रू. ८६ करोड ५१ लाख बराबरको शेयर कारोबार भएको छ ।पछिल्लो केही दिनयता परिसूचक पनि २ हजार विन्दुको वरिपरि छ । लगानीकर्ताको सक्रियता घटेकाले कारोबार पनि दैनिकजसो घट्दो छ ।पछिल्लो केही दिनयता लगानीकर्ता 'पर्ख र हेर'को अवस्थामा रहेको विज्ञहरू बताउँछन् । सोही कारण बजार न बढ्न सकेको छ न त घट्न नै ।तर, लाभांशको सिजन नजिकिएकाले अबको केही दिनमा बजार बढ्ने विज्ञहरू बताउँछन् । अहिले शेयर खरीद गर्नेले छोटो समयमा लाभांशको हकदार बन्न सक्नेछन् । त्यहीकारण अब बजारमा ट्रेडिङ गर्नेहरू आकर्षित हुने उनीहरूको भनाइ छ ।यस्तै, बजारमा नयाँ ब्रोकर थपिएका छन् । त्यसकारण उनीहरूले नयाँ ग्राहक खोजिरहेका छन् । पुराना ब्रोकरसँग प्रतिस्पर्धा पनि बढेको छ । प्रतिस्पर्धाका कारण ब्रोकर सेवा उपत्यका बाहिर पनि विस्तार भइरहेको छ । ग्रामीण र अर्थसहरी क्षेत्रका सबै ठाउँका ग्राहक पनि विस्तारै शेयर बजारमा ल्याउने रणनीतिमा ब्रोकरहरू लागेका छन् । यसआधारमा आगामी दिनमा पूँजी बजारमा प्रवेश गर्नेहरूको समूह ठूलो हुन सक्ने जानकारहरू बताउँछन् ।मंगलवार कारोबारमा आएका धितोपत्रमध्ये कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशत वृद्धि भएको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९३३ दशमलव १० पुगेको हो ।सर्वाधिक शेयर मूल्य बढ्ने कम्पनीको सूचीमा दोस्रोमा ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ छ । फण्डको इकाई मूल्य ९ दशमलव ९९ प्रतिशत बढेर रू. ८ दशमलव ९२ पुगेको छ ।मंगलवार सबैभन्दा बढी स्वाभिमान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य ४ दशमलव ८३ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ६१ मा झरेको हो । त्यस्तै सामलिङ्ग पावर कम्पनीको शेयर मूल्य ४ दशमलव ८३ प्रतिशत घटेर रू.३७४ कायम भएको छ ।सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा माछापुच्छ्रे बैंकले ओगटेको छ । कम्पनीको रू. ३ करोड ६२ लाख बराबरको कारोबार भएको हो । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २७५ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने कम्पनीको सूचीमा दोस्रोमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी छ । कम्पनीको रू. ३ करोड २४ लाख बराबरको शेयर किनबेच भएको छ ।यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये लगानी समूहको परिसूचक शून्य दशमलव १२ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशमलव २५ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव ०५ प्रतिशत र व्यापार समूहको परिसूचक शून्य दशमलव ०२ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ ।समूहगत परिसूचक सर्वाधिक घट्नेमा होटल तथा पर्यटन समूह छ । उक्त समूहको परिसूचक शून्य दशमलव ६३ प्रतिशत घटेको छ ।






























