
दोस्रो विश्वयुद्धमा एडोल्फ हिटलरको पार्टी नाजीका तर्फबाट लडेका युक्रेनी नागरिकलाई संसदमा आमन्त्रण गरेर उनको प्रशंसा गरेपछि विवादमा तानिएका क्यानडाको हाउस अफ कमन्सका सभामुखले राजीनामा दिएका छन् ।अन्ठान्नबे वर्षीय यारोस्लाभ हुन्कालाई ‘नायक’ भन्दै उनको प्रशंसा गरेपछि सभामुख एन्थोनी रोटाले मङ्गलबार ओटावामा पार्टी नेतालाई भेटेर राजीनामा दिनुभएको हो । सभामुख रोटाको अभिव्यक्तिलाई लिएर स्वदेश र विदेशमा उहाँको कटु आलोचना भएको थियो । गत शुक्रबार भएको यो घटनाको विश्वव्यापी निन्दा भएको थियो ।यसअघि क्यानडाका नागरिक र राजनीतिक दलका नेताले सभामुख रोटाको राजीनामा मागेका थिए । उहाँले संसदमा सभामुख पदबाट राजीनामा दिएको घोषणा गर्दै आफ्नो अभिव्यक्तिप्रति गहिरो पश्चाताप भएको बताउनुभएको थियो । उहाँले आफूलाई हुन्काको नाजीसँगको सम्बन्धबारे जानकारी नभएको र कार्यक्रममा उपस्थित हुन आमन्त्रित गरेर गल्ती गरेको बतानुभयो ।क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार नै सभामुखले हुन्कालाई सदनमा गरेको आमन्त्रण र अभिव्यक्ति दुवै लाजमर्दो भएको टिप्पणी गर्नुभएको थियो । रासस/एपी




























