
काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित गुडलक होटलमा आगलागी हुँदा होटलका दुईवटा भवन पूर्णरूपमा जलेका छन् ।जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मैसम तामाङका अनुसार होटलमा आगलागी भएको सूचना बिहान करिब ११ः५० बजे प्राप्त भएको थियो । सूचना प्राप्त भएलगत्तै अस्थायी प्रहरी चौकी दिङबुतेबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।होटल सञ्चालक कुलबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । आगलागीबाट होटलका दुईवटै भवन पूर्णरूपमा जलेर नष्ट भएका छन् ।प्रहरी निरीक्षक तामाङका अनुसार अहिले आगो पूर्णरूपमा नियन्त्रणमा आइसकेको छ । घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।आगलागीबाट भएको भौतिक तथा आर्थिक क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । हाल क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।




























