रौतहट । रौतहटको मौलापुरमा हुने मधानी महायज्ञको सम्पूर्ण तयारी पुरा भएको छ । मौलापुर स्थित पतौरा महादेव मन्दिरलाई विश्व सम्पदा सूचिमा सुचिकृत गराउँने संकल्प सहित मधानी महायज्ञ हुदै आएको छ । मौलापुर पुगेका आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले महायज्ञको तयारीको बारेमा जानकारी लिएका छन् । रौतहट ३ बाट निर्वाचित सांसद समेत रहेका साहको गृहनगरमा विगत देखी नै मधानी महायज्ञ हुदै आएको छ । साहले महायज्ञको सम्पूर्ण तयारीका बारेमा गठन भएका बिभिन्न समिति तथा उपसमिति मार्फत भएका कामको बारेमा जानकारी दिएका छन् । मधानी महोत्सव–२०८० लाई भव्य रुपमा सम्पन्न गर्न आवश्यक सबै तयारीमा जुटन निर्देशन दिदै उनले आवश्यक सहयोग जारी रहने बताए ।चार दिनसम्म बिभिन्न कार्यक्रम गरी मनाईने महोत्सवमा बिभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता हुने आयोजनक मौलापुर नगरपालिकाले जनाएको छ । फागुन २३ गते ३ बजे शिव बारात यात्रा, २४ गते ११ बजे मधानी बिशेष पुजा, २५ गते सांस्कृतिक बिशेष कार्यक्रम र २६ गते अन्तर्राष्ट्रीय दंगल (कुस्ती) प्रतियोगिता राखिएको छ । जहाँ राष्ट्रिय, अन्तर्राष्ट्रिय पुजारी, खेलाडी, कलाकार लगायतको बिशेष सहभागिता हुदैछ । मधानी महायज्ञमा नेपाल र भारतका लाखौं सर्वसधारणको सहभागिता हुने र त्यसका लागि आवश्यक शान्ति सुरक्षा लगायतको तयारी सुरक्षा निकायले पुरा भएको जनाएको छ । हालै केही दिन अघि रौतहटका प्रमुख जिल्ला अधिकारीले समेत मौलापुरमा पुगेर त्यहाँको बस्तुस्थितको अवलोकन एवं अध्ययन गरिसकेका छन् । बर्षौ पहिला शिवको मुर्ति फेला परेको थियो ।त्यसपछि पुरातत्व विभागले उत्खनन गरेको थियो । उत्खनन गर्दै गर्दा त्यहाँ ऐतिहासिक रुपमा महत्वपुर्ण मन्दिर लगायतका बस्तुको फेला परेको थियो । त्यसपछि लगाातार उत्खनन हुदै गएपछि गुप्तकालिन बस्तुहरु फेला परेकाले पालिका त्यसको संरक्षण गर्न तर्फ लागेको छ । हजारौं बर्ष पुराना मन्दिर सहित बिभिन्न बस्तु फेला परेपछि त्यसलाई विश्वसम्पदा सूचिमा सूचिकृत गर्नुपर्ने माग उठदै आएको छ ।